सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले एनपीएलमा प्रहार हुने चौका र छक्काका आधारमा कफीका विरुवा रोप्ने घोषणा गरेको छ । कलेजका अनुसार खेलमा हरेक चौकामा चार र हरेक छक्कामा छ वटा गरी कफीका विरुवा रोप्ने निर्णय गरिएको हो । ‘कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण समुदायसँग कलेजको सहकार्य थप सुदृढ बनाउन मद्दत गर्नेछ,’ कलेजका अध्यक्ष लक्ष्मण केसीले बताए । यो वर्ष रोपाइँका लागि स्थान भने अझै निश्चित गरिएको छैन । उपयुक्त भूभाग पहिचानका लागि मूल्यांकन कार्य जारी रहेको कलेजले जनाएको छ । कलेजका अनुसार शैक्षिक संस्था कक्षा कक्षाभित्रको अध्यापनमै सीमित नभई ग्रामीण विकास तथा स्थानीय उत्पादन प्रवद्र्धनमा पनि सक्रिय हुनुपर्छ भन्ने मान्यताबाट यो अभियान सुरु गरिएको हो । कफी खेतीमार्फत ग्रामीण कृषकलाई प्रत्यक्ष सहयोग, तालिम तथा सम्भावित बजार पहुँच उपलब्ध गराउने योजना समेत कलेजले ल्याएको छ । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले गत वर्ष काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ११ सय थरी–थरीका बिरुवा रोपेको थियो। त्यो समयमा हरेक चौकामा एक र छक्कामा दुईवटा विरुवा रोपिने दर कायम गरिएको थियो । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयसँग सम्बन्धन प्राप्त थापागाउँ, बानेश्वरस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले पछिल्लो १५ वर्षदेखि व्यवस्थापन र पाँच वर्षदेखि आइटी संकायमा स्नातक तथा स्नातकोत्तर तहको शिक्षा प्रदान गर्दै आएको छ ।