सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा उच्च प्रदर्शन गरिरहेका दुई टोली सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सले आज पहिलो क्वालिफायर खेले । जसमा सुदूरपश्चिमले ७८ रनको जित निकाल्दै फाइनलमा पुगेको छ । जारी सिजनमा कुनै पनि टोलीले बनाएको यो कम स्कोर हो । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको छ । लगातार दोस्रो पटक फाइनल पुग्ने सुदूरपश्चिम एक्लो टोली हो । सुदूरपश्चिमले खेललाई एकपक्षिय बनायो । पछिल्लो पटक यी दुई टोलीको भेटमा विराटनगरले एकतर्फी जित निकालेको थियो । त्यो खेलमा विष्फोटक ब्याटिङ गरेको विराटनगर आज पहिलो ओभरबाटै ब्याटिङमा संघर्ष गर्न बाध्य भयो । पहिलो ओभरमा २ विकेट गुमाएपछि विराटनगरले कुनै समय खुलेर ब्याटिङ गर्न सकेन । जसका कारण १ सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा सबै विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो । विराटनगरले फाइनल पुग्नका लागि अझै एउटा मौका बाँकी छ । भोलि हुने एलिमिनेटरको विजेतासँग विराटनगरले बिहीवार क्वालिफायर टु खेल्नेछ । त्यसको विजेताले शनिवार सुदूरपश्चिमसँग फाइनल खेल्नेछ । पहिलो ओभरको पहिलो बलमा विराटनगरका ओपनर साम हेजलेट स्कट कुगेलेइनको बलमा आउट भए । मार्टिन गप्टिल पहिलो ओभरको अन्तिम बलमा रन आउट भए । नरेन भट्ट दोस्रो ओभरको पहिलो बलमा आउट भए । हर्मित सिहंको बलमा कुगेलेइनले नरेनको क्याच लिए। विराटनगरले पावर प्लेमा ३ विवेटको नोक्सानीमा ३४ रन बनायो । ६.५ ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १२ रन बनाएका बसिर अहमदलाई आफ्नै बलमा क्याच आउट गराए । ८.२ मा ५ रन बनाएका लोकेश बम अभिनाष बोहोराको बलमा दीपेन्द्रले क्याच लिए । ९.१ मा हर्मितले नारायण जोशीलाई बोल्ड गरे । विराटनगरले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ५७ रन जोड्यो । १०.५ ओभरमा २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका फाफ डु प्लेसिसले ३६ हेमन्त धामीको बलमा क्याच आउट भए । ११.१ ओभरमा प्रतिश जिसी र आउट हुँदा विराटनगर ८ विकेटको नोक्सानीमा ५९ को अवस्थामा रह्यो । १३.२ ओभरमा मर्चेन्ट डि लाङ्गे १५ रनमा कुगेलेइनको बलमा हर्मितद्वारा क्याच भए । १४.१ ओभरमा अन्तिम विकेटका रुपमा अभिनाषले सन्दीप लामिछानेको विकेट । सुदूरपश्चिमका कुगेलेइन, हर्मित र अभिनाषले समान २ तथा दीपेन्द्र हेमन्तले समान १ विकेट लिए । कीर्तिपुरस्थित टियु मैदानमा त्यसअघि विराटनगर किङ्सले टस जितेर फिल्डिङ रोजेको थियो । पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको नोक्सानीमा १ सय ५५ रन बनायो । सुदूरपश्चिमलाई विराटनगरले दबाबमा राखेको थियो । यद्दपी लामो समय ब्याटिङ गरेका ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गर्दै धैर्यतापूर्वक एउटा एन्ड सम्हाले । सुदूरपश्चिमले पावर प्लेमा १ विकेटको क्षतिमा ४२ रन बनायो । तेस्रो ओभरमा पाँचौं बलमा लाङ्गेले मुख्तार अहमद १० को विकेट लिए । सूर्य तामाङले ७.५ ओभरमा २० रन बनाएका सेल्डन ज्याक्सनलाई आउट गरे । २९ रनमा विनोदलाई बसिर अहमदले जीवन दान दिए । नरेन भट्टको बलमा उनले क्याच ड्रप गरे । १० ओभरको समाप्तिमा सुदूरपश्चिमले २ विकेटको क्षतिमा ७७ रन बनाएको थियो । १३.५ ओभरमा हेजलेटको बलमा इशान पाण्डे १३ रन बनाएर आउट भए । उनको मुस्किल क्याच नरेन भट्टले लिए । १३.४ ओभरमा ३ रन बनाएका दीपेन्द्र लाङ्गेद्वारा रन आउट भए । विनोदले ४४ बलमा ३ चौका र १ छक्का दोस्रो अर्धशतक पूरा गरे । १६.३ओभरमा प्रतिशले हर्मितलाई १४ रनमा आउट गरे । १८.५ ओभरमा ६३ रनमा विनोद प्रतिशको बलमा आउट भए । २० रन बनाएका आरिफ १९.४ ओभरमा लाङ्गेको बलमा आउट भए । लाङ्गे र प्रतिशले समान २ तथा सूर्य र साम हेजलेटले समान १ विकेट लिए। किफायती बलिङ गरेका कप्तान सन्दीप लामिछाने विकेट लिन सकेनन् । उनले ४ ओभरमा १६ रन मात्र खर्चे । यसअघि उनले सबै खेलमा गरि १५ विकेट लिएका थिए । एनपिएलमा भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।