विराटनगरलाई हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

मंगलबार, मंसिर २३, २०८२

काठमाडौं । विराटनगर किंग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिम रोयल्सको यो लगातार दोस्रो पटक फाइनल प्रवेश हो । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो । योसँगै सुदूरपश्चिमले विराटनगरसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ । लिग चरणमा विराटनगरले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । सुदूरपश्चिमसँग पराजित भएपछि विराटनगर पहिलो प्रयासमा नै उपाधि नजिक पुग्ने मौका गुमाएको छ । अब विराटनगरले फाइनल पुग्न दोस्रो मौका पाउनेछ । विराटनगरले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।  एलिमिनेटर खेलमा बुधबार तेस्रो स्थानको काठमाडौ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स खेल्नेछन् । सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो । विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए पनि टोलीको हार टार्न सकेनन् । फाफले २९ बलमा तीन चौका र एक छक्का प्रहार गर्दा हेमन्त धामीको बलमा क्याच आउट भए । 
मार्चेन्ट डे लाङगे १५ रन बनाउँदा स्कट कुग्लेजिनको बलमा हरमित सिंहबाट क्याच आउट हुन पुगे । बसिर अहमदले १२ रन थपे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।  विराटनगरलाई रोक्न दोस्रो ओभरमा नै सुदूरपश्चिमले तीन विकेट लिएको थियो । १.१ ओभरमा विराटनगरले तीन रन बनाउँदा तीन विकेट गुमाएको थियो । पावर प्लेमा विराटनगरले तीन विकेट गुमाएर मात्र ३४ रन बनायो ।  विराटनगरलाई कम स्कोरमा रोक्न सुदूरपश्चिमका लागि हरमित सिंह, अविनास बोहरा र स्कट कुग्लेजिनले समान दुई विकेट लिए । हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट आफ्नो नाममा गरे ।  त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल तयार पारेको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । 
उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । उनले ४४ बलमा तीन चौका र एक छक्काको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।  आरिफ शेखले २० रन बनाउँदा क्याच आउट भए। स्कट कुग्लेजिन एक रनमा नटआउट रहे ।  त्यस्तै, ११ बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाएका सेल्डन ज्याकसन सूर्य तामाङको बलमा विकेटकिपर लोकेश बमबाट आउट हुन पुगे ।  ११ बलमा १४ रन बनाएका हरमित सिंह प्रतिश जिसीको बलमा साम हेटलेजको हाटबाट क्याच आउट भए । इशान पाण्डे १३ रनमा आउट भए । ओपनर मुख्तर अहमद १० रन बनाउँदा मर्चेन्टको बलमा बोल्डआउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी तीन रनमा रनआउट हुन पुगे ।  विराटनगरका लागि मार्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले दुई–दुई विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले समान एक विकेट लिए । एनपीएलको पहिलो खेलमा विकेटविहीन बनेका कप्तान सन्दीप लामिछानेले आफ्नो स्पेलमा १६ रन दिए । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार