एनपीएलको प्ले अफ–फुग्ने चौथो टिम बन्यो लुम्बिनी लायन्स

जनकपुर, चितवन राइनोज र पोखरा एभेन्जर्सको प्ले–अफ सम्भावना समाप्त 
शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को प्ले अफ–फुग्ने चौथो टिम बनेको छ । लुम्बिनीले त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै प्ले अफमा पुग्न सफल भएको हो । यो नतिजासँगै जनकपुरसहित चितवन राइनोज र पोखरा एभेन्जर्सको प्ले–अफ सम्भावना समाप्त भएको छ । कर्णाली याक्सको यसअघि नै सम्भावना समाप्त भइसकेको छ । सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स यसअघि नै प्ले(अफ पुगिसकेका छन् । त्यसमध्ये सुदूरपश्चिम शीर्षमा रहेर क्वालिफायर १ का लागि समेत छनोट भइसकेको छ ।
प्ले अफको बाँकी समीकरण लिग चरणका अन्य खेलले गर्नेछ । सुदूरपश्चिमको १२, काठमान्डुको १० र विराटनगर तथा लुम्बिनीको समान आठ अंक भएको छ । जितका लागि १ सय ३३ रनको लक्ष्य पाएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर १ सय ३६ रन बनायो । त्यसमा दिलीप नाथ १५ र रुबेन ट्रम्पलमेन ६ रन बनाएर नटआउट रहे ।
ओपनर सुमित महर्जन आफूले सामना गरेको पहिलो बलमै खाता नखोलेर संगीथ कुरेको बलमा बोल्ड भए । कुरेकै बलमा डि’आरसी सर्ट ३० रन बनाएर एलबीडब्लू भए । सर्टले २४ बलमा एक चौका र दुई छक्का प्रहार गरे । कप्तान रोहित पौडेल भने ३२ बलमा ३४ रन बनाएर मयन यादवको सिकार बने । उनले दुई चौका र एक छक्का प्रहार गरे । सन्दीप जोरा पनि शून्यमै आउट भए । जेजे स्मिटले १९ बलमा २१ रन थपे । कुरेले २५ रनमा तीन विकेट लिए ।
त्यसअगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन बनाएको थियो । उसका लागि सबैभन्दा ठूलो व्यक्तिगत स्कोर नै कुरेले बनाएको ४५ रन रह्यो । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ओपनर माज सदाकतले ६ रन मात्रै बनाए । अर्को ओपनर आसिफ सेखले भने १७ बलमा २० रन जोडे ।
अनिल साहले पनि सात रन भन्दा बढी बनाउन सकेनन् । शुभ कंसाकार पनि ११ रनमै आउट भए । सञ्जय कृष्णमूर्तिको ब्याटबाट १४ रन मात्रै सम्भव भयो । मयन यादवले २७ रनको योगदान गरे । लुम्बिनीका बलरमध्ये शेर मल्लले २० रन खर्चिएर दुई विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले पनि १५ रनमा दुई विकेट हात पारे ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार