पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

साहबले ह्याट्रिक सहित ६ विकेट लिए 
बिहीबार, मंसिर १८, २०८२

काठमाडौं । साहब आलमले ह्याट्रिक सहित ६ विकेट लिएपछि दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज पाँचौं जितका साथ प्ले अफमा प्रवेश गरेको छ । पोखरा एभेन्जर्सलाई लाई १३ रनले हराउँदा काठमाडौं प्ले अफमा पुग्ने दोस्रो टिम बन्यो । काठमाडौंको जितमा साहबको ह्याट्रिकसहित ६ विकेट तथा बेन चार्ल्सवर्थ र भीम सार्कीले अर्धशतक प्रमुख बन्यो । पोखराको भने प्ले अफ यात्रा कठिन बनेको छ । जितको लागि १ सय ६६ रनको चुनौती पछाएको पोखरा २० ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा रोकियो । पोखराले सुरुवात खराब गर्‍यो । ५ रन बनाएका एडम‌ रोसिङ्गटन सनि पटेलको बलमा आउट भए । ७ रन बनाएको पोखराले दोस्रो विकेट २८ रन जोड्दा गुमायो । आश गरिएका जेशन रोए १६ रनमा साहबको बलमा बोल्ड आउट हुन पुगे । पहिलो पावर प्लेमा पोखराले ३७ रन मात्र बानयो । विकेट पतनको सिलसिला कायमै रहँदा त्रित राज जोशी ९ रनमा सनि पटेलको बलमा र ओपनर तथा कप्तान कुशल भुर्तेल २२ रनमा करण केसीको बलमा आउट भए । ५५ रन‌ बनाउँदा ४ विकेट गुमाएसँगै पोखरा दबाबमा आयो । १० ओभरमा ६७ रन बनाएको पोखरालाई यसपछि अन्तिम १० ओभरमा जितको लागि ९९ रन आवश्यक थियो ।‌ क्रिजमा धनन्जय र ऋषि धवन थिए । १५ ओभरमा १ सय १४ रन जोड्दा पोखरालाई अन्तिम ३० बलमा ५२ रन बनाउनुपर्ने थियो । यी दुईले पाँचौं विकेटको लागि ७६ रनको साझेदारी गर्दै आशा दिलाएका थिए । तर १७ औं‌ ओभरमा करणले लक्समलाई आउट गरे । लक्सम ३० रनमा आउट भए । मिलिन्दले उत्कृष्ट क्याच लिए । उनी आउट हुँदा पोखराले १ सय ३१ रन बनाएको थियो । किरण ठगुन्ना क्रिजमा छिरे । अन्तिम १८ बलमा ३१ रन जरूरी हुँदा खेल रोमाञ्चक बन्यो । यो स्थितिमा क्रिजमा किरण ५ रनमा साहबको बलमा मिलिन्द्वारा नै क्याच आउट भए । ऋषिले २७ बलमा ३ चौका र २ छक्का सहित अर्धशतक बनाए । पोखरालाई अन्तिम १२ बलमा जितको लागि २५ रन जरूरी थियो । १९ औं ओभरमा करणको बलिङमा ५ रन मात्र बनायो । अन्तिम ओभरमा २० रन बनाउने चुनौती पोखरालाई थियो । तर साहबको पहिलो बलमा ऋषि मिलिन्दद्वारा क्याच आउट हुँदा पोखरा हार नजिक बन्यो । ऋषि‌ टिमको लागि ३१ बलबाट सर्वाधिक ५४ रन जोडेर आउट भए। दोस्रो बलमा विपिन गोल्डेन डक आउट भए । यसपछि साहबले आकाश चन्दलाई आउट गर्दै ह्याट्रिक विकेट लिए । यो एनपिएकै पहिलो ह्याट्रिक विकेट हो । बलिङमा साहबले ४ ओभर बलिङ गर्दै २५ बल दिएर ६ विकेट लिए । यो सिजन ६ विकेट लिने उनी पहिलो खेलाडी बने । करण र सनीले २–२ विकेट लिए ।‌ त्यसअघि पोखराले टस जितेर फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रन बानयो । काठमाडौंले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन् । ६ ओभरको समाप्तिमा ३१ रन जोड्दा २ विकेट गुमाइसकेको थियो । ओपनर आकाश त्रिपाठी गोल्डेन डक आउट हुँदा काठमाडौंले २ रन मात्र बनाएको थियो । आकाश धनन्जय लक्समको बलमा पहिलो ओभरको चौथो बलमा आउट भए । पाँचौं ओभरको अन्तिम बलमा वान डाउनमा क्रिजमा छिरेका रसिद खानलाई लक्समले नै सन्दीप क्षेत्रीद्वारा क्याच आउट गराए । दोस्रो विकेटको नोक्सानीमा काठमाडौंले २१ रन मात्र बनाएको थियो । कमजोर सुरुवात गरेको काठमाडौले त्यसपछि पनि निरन्तर विकेट गुमाई नै रह्यो । १३ रन बनाएका मिलिन्द कुमारलाई कुशल भुर्तेलले पबिलियनको बाटो देखाइदिए । १० ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो । रन जोड्न संघर्ष गरेको काठमाडौंले साझेदारी समेत गर्न सकेन । जोन सिम्पसन २ बलमा कुशलद्वारा कट एन्ड बोल्ड भए । लगत्तै आदिल अलामलाई किरण ठगुन्नाले ७ रनमा आउट गरे । ७ रन बनाएर आदिल आउट हुँदा काठमाडौंले ७९ रन जोडेर संघर्ष गरिरहेको थियो । ओपनर चाल्सवर्थले ४८ बल खेल्दै ४ चौका र १ छक्का सहित अर्धशतक बनाए । १५ ओभरको समाप्तिमा काठमाडौंले‌ ९९ रन बनायो । तर यसपछि भीमले विष्फोटक ब्याटिङ गर्दै काठमाण्डौको योगफल बढाए । भीमले १९ बलमा नै ५ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे । भीमसँग छैटौं विकेटको लागि ७६ रनको उत्कृष्ट साझेदारी गरेका चाल्सवर्थ विपिन खत्रीको बलमा ६४ रनमा आउट भए । उनले ५५ बल खेल्दै ५ चौका र २ छक्का प्रहार गरे । उनी नै काठमाडौंको सर्वाधिक रन बनाउने खेलाडी बने ।‌ उनी आउट हुँदा ६ विकेटको नोक्सानीमा १ सय ५५ रन बनाएको थियो । त्यसपछि भीम २३ बलमा ५५ रनमा धनन्जयको बलमा आउट भए। करण ४ रनमा आउट भए । अन्तिम ५ ओभरमा काठमाडौंले ६५ रन जोडेर प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । बलिङमा लक्समले ४ ओभरमा १ मेडन सहित १६ रन दिएर सर्वाधिक ४ विकेट लिए। कुशल भुर्तेलले २ विकेट लिए । यो जितमा १० अंक सहित काठमाडौं प्ले अफमा पुगेको छ । काठमाडौंले लिग चरणको सबै खेल सकाउँदा ५ जित र २ हार सहित १० अंक जोडेको छ । पोखराले ६ खेलमा मात्र ४ अंक बनाएको छ । आज दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भइरहेको छ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार