विस्तारै लयमा फर्कंदै लुम्बिनी लायन्स 

विराटनगरलाई हराउँदै चौथो स्थानमा प्रवेशसँगै प्ले अफको संभावना सहज  

बुधबार, मंसिर १७, २०८२

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले तेस्रो जित हात पारेको छ । विराटनगर किंग्सलाई आज ५ विकेटले हराउँदै लुम्बिनीले प्ले अफको संभावनालाई केही सहज बनाएको छ । यो हारमा विराटनगरले एक खेल अगाडि प्ले अफमा पुग्ने मौका गुमाएको छ । जितको लागि १ सय ४५ रनको चुनौती पछाएको लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।  मध्यम लक्ष्य पछाएको लुम्बिनीले‌ सुरुवात राम्रो गर्न सकेन । ओपनर डार्सी सट र सुमित महर्जनले चौथो ओभरको समाप्तिमा २९ रन जोडे । तर पाँचौं ओभरमा सुबाश भण्डारी २ महत्वपूर्ण विकेट लिन सफल भए । सुमित पाँचौं ओभरको पहिलो बलमा १० रन जोडेर आउट भए । क्रिजमा कप्तान रोहित पौडेल छिरे । उनी सामना गरेको तेस्रो बलमा डक आउट भए । दुई विकेट गुमाउँदा २९ रन बनाएको लुम्बिनीले पहिलो पावर प्लेमा ४६ रन बनायो । त्यसपछि १० औं ओभरको दोस्रो बलमा सन्दीप लामिछानेले सन्दीप‌ जोरालाई एलबिडब्लु धरापमा पारे । १५ बलमा ३ चौका र १ छक्का सहित २४ रन जोडेर सन्दीप जोरा आउट भए । १० ओभरको समाप्तिमा लुम्बिनीले ६३ रन जोड्यो ।
क्रिजमा टिकेका डार्सीले ३९ बलमा ५ चौका २ छक्का सहित अर्धशतक बनाए । डार्सी र निरोसन डिकवेलाले चौथो विकेटको लागि ४६ रनको साझेदारी गरे । डार्सी ४४ बलमा ५७ रन जोडेर सन्दीपको बलमा आउट भए । जारी एनपिएलमा डार्सीले बनाएको यो व्यक्तिगत उच्च स्कोर हो । चौथो विकेटको रूपमा डार्सी आउट हुँदा लुम्बिनीलाई ४० बलमा ३३ रन आवश्यक थियो । दीलिप नाथ १६ रनमा बसिर अहमदको बलमा आउट भए । बलिङमा सन्दीप र सुबाशले समान २ विकेट लिए । दुबैले ४ ओभर बलिङ गरे। सन्दीपले २० र सुबाशले ३० रन दिए । त्यसअघि टस जितेर लुम्बिनीका कप्तान रोहितले पहिला बलिङ रोजे । पहिला ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन बनायो । विराटनगरको लागि ओपनिङ ब्याटिङको लागि दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस र जर्ज मुन्से आए । तर विराटनगरले सुरुवात खराब गर्‍यो ।  इनिङ्सको दोस्रो बलमा जर्ज मुन्से शेर मल्लको बलमा आउट भए । विराटनगरले पहिलो विकेट गुमाउँदा रनको खाता खोल्न सकेन । वान डाउनमा लोकेश बम क्रिजमा छिरे । यसअघिका खेलमा लोकेशले ओपनिङ गर्दै आएका थिए ।
फाफले प्रहार गरेको दुई चौकाको स्तर बेग्लै थियो । तर उनी धेरै बेर क्रिजमा टिक्न सकेनन् । अभिशेष गौतमको बलमा फाप स्ट्पिङ आउट भए । मात्र ९ बल खेल्दै १२ रन बनाएर आउट भए। १५ रन जोड्दा विराटनगरले २ विकेट गुमायो । लोकेशलाई साथ दिन साम हेजललेट आए। पावर प्लेमा विराटनगर मात्र ३४ रनमा समेटियो । त्यसपछिको थप ४ ओभरमा विराटनगरले २५ रन मात्र बनाउन सक्यो। १० ओभर सकिंदा ५९ रन मात्र बनाउँदा विराटनगरले रनको लागि संघर्ष गर्‍यो ।  तेस्रो विकेटको लागि लोकेश र सामले ५५ रनको साझेदारी गरे। लोकेश ४० बलमा २ चौका र २ छक्का सहित ३५ रन जोडेर जेके स्मिथद्वारा कट एन्ड बोल्ड भए । उनी आउट हुँदा टोलीले ११.४ ओभरमा ३ विकेट गुमाएर ७० रन बनाएको थियो । त्यसपछि १४ औं ओभरमा शेरले २ विकेट लिंदै विराटनगरलाई थप दबाब दिए। ५ रन बनाएका नारायण जोशीलाई एलबिडब्लु धरापमा पारे । लगत्तै साम हेजललेट शेरकै बलमा दीलिप नाथद्वारा क्याच आउट भए। उनले २० बल खेल्दै १ चौका र २ छक्का सहित २७ रन बनाए । ५ विकेट गुमाउँदा विराटनगरले ८३ रन जोड्यो । त्यसपछि साझेदारी बन्न सकेन । प्रतिश जिसी ११ रनमा रन आउट भए । बसिर अहमद १९ बल खेलेर १ चौका र १ छक्का सहित २८ रनमा रूबेन ट्रम्पलम्यानको बलमा आउट भए। मर्चेन्ट डि लाङ्गे अविजित १० रनमा र अन्तिम बलको सामना गरेका कप्तान सन्दीपले छक्का प्रहार गरे । बलिङमा शेरले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिंदै प्रभावशाली प्रदर्शन गरे । यस्तै जेजे स्मिथ, रूबेन ट्रम्पलम्यान र अभिशेषले समान १ विकेट लिए ।
छैटौं खेलमा तेस्रो जितकासाथ लुम्बिनी चौथो स्थानमा उक्लिएको छ । लुम्बिनीसँग ६ अंक पुगेको छ। छैंटौं खेलमा दोस्रो हार बेहोरेको विराटनगरसँग ८ अंक रहेको छ । विराटनगर तेस्रो स्थानमा कायमै रहेको छ । भोलि दुई खेल हुनेछन्। पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच हुनेछ । दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सको सामना चितवन राइनोजले गर्नेछ ।

Photo-(3)-1764765526.png
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार