सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा आज पहिलो जित निकाल्दै नेपाल प्रिमियर लिग (एपिएल) दोस्रो सिजनको प्ले अफ सम्भावनालाई जीवित राखेको छ । उच्च योगफलको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ । जनकपुरको जितमा माज सदाकत र अनिल साहले अर्धशतक बनाए । जितको लागि १ सय ७७ रनको चुनौती जनकपुर बोल्ट्सले १७.३ ओभरमा ४ विकेट गुमाएर १ सय ८० बनाउँदै पूरा गर्यो । जनकपुर सिजनको हाईएस्ट चेज गर्ने टोली बनेको छ । यद्दपी जनकपुरले बाँकी २ खेल जितेर पनि प्ले अफ पुग्ने अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ । राम्रो सुरुवात गरेको जनकपुरले पहिलो पावर प्लेमा १ विकेट गुमाएर ५९ रन बनायो । छेटौं ओभरको पहिलो बलमा ओपनर आशिफ शेख कमल ऐरीको बलमा बोल्ड आउट भए । आशिफ १८ रनमा आउट हुँदा टोलीले ४५ रन बनाएको थियो । त्यसपछि ओपनर सदाकतलाई साथ दिन अनिल क्रिजमा छिरे । पोखरा एभेन्जर्ससँगको खेलमा कप्तान अनिललाई ड्रप गरिएको थियो । आज भने उनी प्लेइङमा फर्किए। उनले सदाकतलाई राम्रो साथ दिए । १० औं ओभरको अन्तिम बलमा रबि बोपरालाई चौका प्रहार गर्दै सदाकतके अर्धशतक बनाए । उनले २४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । १० ओभर सकिँदा १ सय १० रन बनाएको जनकपुरले जितलाई सहज बनायो । त्यतिखेर अन्तिम ६० बलमा जितको लागि मात्र ६७ रन आवश्यक थियो । क्रिजमा जमेका सदाकत र अनिलले दोस्रो विकेटको लागि ३७ बलबाट ७९ रनको साझेदारी गरे । सदाकत अमर सिंह राउटेलाको बलमा कप्तान कुशल मल्लद्वारा क्याच आउट भए । उनले ३० बलमा ६ चौका र ४ छक्का सहित ६३ रनको महत्वपूर्ण पारी खेले । उनी आउट हुँदा जनकपुरलाई जितका लागि ५२ बलमा ५३ रन जरुरी थियो । त्यसपछि जान निकोल लोफ्टी क्रिजमा छिरे । अनिलले २८ बल खेल्दै २ चौका र ३ छक्का सहित अर्धशतक बनाए । १५ ओभरमा १ सय ५५ रन बनाउँदा अन्तिम ३० बलमा जितको लागि २२ रन जरुरी रहँदा जनकपुर बलियो स्थितिमा थियो । १६ औं ओभरमा भने जनकपुरले २ विकेट गुमायो । लोफ्टी ११ रनमा आउट भए। लगत्तै सोहेल तनबिरको बलमा ६१ रन बनाएका अनिल कुशलबाट क्याच आउट भए । उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।आदित्य महता १४ र सञ्जय कृष्णमुर्ती ५ रनमा अविजित रहे । बलिङमा सोहरल तनबिर, कमल ऐरी र अमर सिंह राउटेलाले समान १ विकेट लिए । यसअघि टियु क्रिकेट स्टेडियममा टस जितेर चितवनका कुशलले पहिले ब्याटिङ रोजे । चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । जनकपुरले आज राष्ट्रिय टोलीका खेलाडी ललित नारायण राजवंशीलाई ड्रप गर्यो। तर पनि बलिङमा जनकपुर कमजोर नै देखियो । पहिलो पावर प्लेमा विना विकेटको नोक्सानी चितवनले ३८ रन बनायो । चितवनले जारी खेलमा पहिलो पावर प्लेमा विकेट नगुमाएको यो पहिलो पटक हो । जनकपुरका बलरहरूले ब्रेक–थ्रु लिन नसकिरहेको बेला नवौं ओभरको पाँचौं बलमा सचिन भट्टको बलमा ३५ रन बनाएका डविट मलानले जीवनदान पाए । अनिलले क्याच ड्रप गरे । १० ओभरको समाप्तिमा मलान र अर्जुन साउदले ७६ रन जोडे । यो क्रममा दुवैले अर्धशतक बनाए । मलानले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक बनाए । अर्जुनले भने ३७ बलमा ४ चौका र ३ छक्का सहित अर्धशतक बनाए । यी दुईले शतकीय पारी खेल्न सफल भए। १ सय १२ रनको साझेदारी गरेपछि अर्जुन आउट भए । जारी एनपिएलमा पहिलो विकेटको लागि बनेको यो सर्वाधिक ठूलो साझेदारी हो । ब्रेक–थ्रु लोफ्टीले दिलाए । अर्जुन ५२ रनमा आउट भए । लगत्तै वान डाउमा छिरेका सेफ केब ७ रनमा अनिलको बलमा सञ्जय कृष्णमुर्तीद्वारा क्याच आउट भए । १५ ओभरको समाप्तिमा चितवनले १ सय २८ रन बनायो । तेस्रो विकेटको रूपमा रबि बोपरा आउट भए। मात्र ३ रनमा रुपेश सिंहको बलमा आउट भए । उनी आउट हुँदा टोलीके १ सय ४३ रन बनाएको थियो । त्यसपछि ओपनर डविटको ठूलो विकेट सदाकतले लिए । ओपनर मलान ५४ बल खेल्दै ४ चौका र ४ छक्का सहित टोलीको लागि सर्वाधिक ८० रनको उत्कृष्ट पारी खेले । कप्तान कुशलले १४ बल खेल्दै २ चौका र २ छक्का सहित अविजित ३० रन बनाए । बलिङमा सदाकत, अनिल, रुपेश र लोफ्टीले समान १ विकेट लिए । चितवनको भने यो तेस्रो हार हो। २ खेल जितेको चितवनको ४ अंक छ । हारले चितवनको प्ले अफ यात्रा कठिन बनेको छ। आज दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच भइरहेको छ ।