सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो चारवर्षे कार्यकाल सफलता पूर्वक सम्पन्न गरेका छन् । शुक्रबार राखेपलाले सदस्यसचिव घिसिङको विदाईका लागि एक कार्यक्रमको आयोजना गर्यो । घिसिङ २०७८ साल मंसिर १३ गते राखेपको सदस्य सचिव नियुक्त भएका थिए । राखेपका बोर्ड सदस्य अन्जन धमला, विना श्रेष्ठ, दिपेन्द्र विष्ट, जनक बर्तौला, मोहम्मद फाजिल र प्रकाशकुमार कुसरीलाई पनि बिदाइ गरिएको थियो । आफ्नो विदाई समारोहमा सदस्य सचिव घिसिङले नेपाली खेलकुद क्षेत्रको समयानुकुल पुनःसंरचना र विकासका हरेक बहसमा खरो रुपले उत्रने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले चार वर्षमा खेल क्षेत्रको गहिराइमा पुगेर प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको भन्दै यस क्षेत्रको विकास र विवादहरुको निरुपणको विषयमा खरो रुपले उभिने बताए । उनले भने, ‘चार वर्षमा गहिराइमा पुगेको छु र प्रत्येक विषयको नजिकबाट अध्ययन गरेको छु । नेपाली खेलकुदको समयानुकुलको पुनःसंरचना, नेपाली खेल क्षेत्रको प्राथमिकता र यसका विवादहरुको निरुपणको विषयमा साथै विकासका लागि चालिनुपर्ने सबै बहसका क्षेत्रहरुमा म खरो रुपले उत्रने छु । म यो प्रतिबद्धता उद्घोष गर्न पनि यहाँ उभिएको छु ।’ यस्तै, उनले खेलकुदमा नयाँ नयाँ खुड्किलाहरु, उचाईहरु हासिल गर्नका लागि सधैँ प्रयत्न गरेको पनि बताए । हरेक कामको सफलताको हिस्साहरुमा आफ्नो हिस्सा खोज्ने स्वभाव नरहेको पनि उनको भनाइ छ । साथै, उनले चार वर्षको सफल कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदैँ बाँकी समय पनि नेपाली खेल जगतको लागि फेरि नयाँ भूमिकाका साथ सहयात्रा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । घिसिङको विदाई समारोहमा मिसन २०२६ मा रहेका खेलाडी र प्रशिक्षकलाई पनि किट्स वितरण गरिएको थियो । सदस्य सचिव घिसिङलाई राखेप कर्मचारी संघ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र राष्ट्रिय खेल संघलगायतले प्रशंसा पत्र हस्तान्तरण गरेका थिए । सदस्य–सचिव घिसिङले आफ्नो चार वर्षे कार्यकालमा अभूतपूर्व सफलता हासिल गर्न सहयोग गरेकोमा खेलाडीलाई धन्यवाद दिए । त्यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेपका सदस्य–सचिव घिसिङलाई बिदाइ गरेको थियो । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र सचिव डा. हरिप्रसाद लम्सालले घिसिङलाई मायाको चिनो प्रदान गरे । घिसिङले आफ्नो ४ वर्षे कार्यकालको प्रतिवेदन र राखेपले प्रकाशन गरेको पुस्तक हस्तान्तरण गरेका थिए ।