जनकपुरलाई पराजित गर्दै पोखराको पहिलो जित

बिहीबार, मंसिर ११, २०८२

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो विजय हात पारेको छ । पोखराले बिहीबारको दोस्रो खेलमा च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले पराजित गर्‍यो । १ सय ५६ रनको विशाल लक्ष्य लिएर आएको जनकपुर त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा पुरा २० ओभर खेली ९ विकेट गुमाई १ सय ३० रनमात्र बनाउन सक्यो । गत वर्ष पहिलो संस्करणको योग्य विजेता बनेको जनकपुर पहिलो तीनै खेलमा पराजित भएको छ । बाँकी रहेको चारै खेलमा विजय हात पारे पनि जनकपुरलाई त्यो प्लेअफमा पुग्न पर्याप्त नबन्न सक्छ । पोखराले भने तेस्रो खेलमा आएर पहिलो विजय निकालेको हो । इनिङ्सको पहिलो बलमै पाकिस्तानी खेलाडी माज सदाकतले छक्का प्रहार गरे पनि विपिन खत्रीले सोही ओभरमा आसिफ शेखलाई शून्यमा स्टम्पआउट र शुभ कंसाकारलाई ४ रनमा बोल्ड गरी पोखरालाई सनसनीपूर्ण सुरुआत दिलाएका थिए । त्यसपछि भने जनकपुर माथि उठ्न सकेन । विपिनका ओपनिङ जोडी अर्का स्पिनर सुमित बर्माले इनिङ्सको चौथो ओभरमा यान निकोल लफ्टी इटन र सदाकतलाई आउट गरेपछि पोखराले खेल पूर्ण नियन्त्रणमा राखेको थियो । लफ्टी इटन २ र सदाकत २० रनमा आउट भए । सदाकतले १४ बल खेली १ चौका र २ छक्का प्रहार गरे । कप्तान अनिल साहले पुन निराश बनाए । उनले १ रनमात्र जोड्न सके । विपिनले मयन यादवलाई ४ रनमा आउट गरी उत्कृष्ट बलिङ गरे । विपिनले ४ ओभरमा १५ रनमात्र खर्चे । सञ्जय कृष्णमुर्थीले २३ रन बनाए । उनले २० बल खेली २ चौका र १ छक्का प्रहार गरे । रुपेश सिंह १२ बलमा ७ रन बनाई जिमी निसमको सिकार भए । वायन पार्नेलले ५० रन बनाए । उनी अन्तिम ओभरमा ‘रिटायर्ड आउट’ भए । ३६ वर्षे उनले ३८ बल खेली २ चौका र ४ छक्का प्रहार गरे । ललित राजवंशी १० रनमा अविजित रहे । विपिन बाहेक पोखराबाट सुमितले २ तथा कप्तान कुशल भुर्तेल र निसमले १–१ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय पोखराले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभर खेली ६ विकेट गुमाई १ सय ५५ रन बनाएको हो । पोखराले अन्तिम ५ ओभरमा ६० रन बनाउदै राम्रो स्कोर बनाउन सफल भएको हो । एडम रोसिङटन र दिनेश खरेलले पहिलो विकेटमा ६१ रन जोडेर पोखरालाई राम्रो सुरुआत दिलाएका थिए । नवौँ ओभरमा कृष्णमुर्थीले रोसिङटनलाई आउट गरी यो साझेदारी तोडेका थिए । त्यसको अर्को बलमा देव्रेहाते स्पिनर कृष्णमुर्थीले पोखराका कप्तान कुशल भुर्तेललाई पहिलो बलमै बोल्ड गरे ।
रोसिङटनले १७ बल खेली ३ चौका प्रहार गरी २४ रन बनाए । अर्का ओपनर दिनेशले ३८ बल खेली २ चौका र ३ छक्कासहित ३८ रन बनाए । निसम १ रनमै आउट भए । बर्मा र तृतराज दासले पाँचौँ विकेटमा ७२ रनको साझेदारी गरी पोखराको स्थिति सुधारेका थिए । अभिषेक तिवारीको स्थानमा मौका पाएका तृतले १९ औं ओभरमा रनआउट हुन पूर्व २८ बल खेली २ चौकासहित २८ रन बनाए । ड्यान डाउथवेट ३ बल खेली १ छक्का प्रहार गरी ७ रनमा आउट भए ।
बर्माले अविजित ५० रन बनाए । उनले २९ बल खेली २ चौका र ४ छक्का प्रहार गरे । कृष्णमुर्थीले जनकपुरबाट ३ विकेट लिए । उनले ४ ओभरमा २१ रनमात्र खर्चेका थिए । ललित राजवंशीले ४ ओभरमा ४० रन खर्चेर २ र कप्तान अनिल साहले १ विकेट लिए ।
‘आमाको सम्मान’ स्वरूप जनकपुर पिंक जर्सी र पोखरा हिम नदीहरू महत्त्वपूर्ण छन् भन्ने वातावरण संरक्षण अभियानको सन्देश बोकी हरियो जर्सी लगाएर खेलेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  २०:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार