सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल युएईमा जारी एसिसी पुरुष यु(१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । हङकङलाई आज १ सय १९ रनले पराजित गर्दै लगातार दोस्रो जितका साथ समूह विजेता बनेर नेपाल अन्तिम चारमा पुगेको हो । जितका लागि २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङ ४०.५ ओभरमा अल आउट हुँदै १ सय ५ रनमा रोकियो । हङकङविरूद्ध निरन्तर विकेट निकाल्दै नेपालले जितलाई सहज बनायो । हङकङका शिव माथुरले सर्वाधिक ३० रन बनाए । जुडे लीले २२ रन तथा अब्दुल सामद खानले १९ रन जोड्दा अन्य ब्याटर क्रिजमा टिक्न सकेनन् । बलिङमा अपराजित पौडेलले ३१ रन दिएर सर्वाधिक ४ विकेट लिए । यस्तै कप्तान अशोक धामीले २९ रन दिएर ३ विकेट झारे । दयानन्द मण्डल, सुशील बहादुर रावल र रोशन विश्वकर्माले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७० रन बनायो । कप्तान अशोकको उत्कृष्ट अर्धशतकले टोलीलाई ठूलो स्कोर बनाउन मद्दत गर्यो । अशोकले ५१ बलमा ७३ रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गरे । इनिङसको अन्तिम बलमा उनी ड्यानियल म्यापको बलमा शिव माथुरबाट क्याच आउट भए । ओपनर निराज कुमार यादव र वंश क्षेत्रीले पहिलो ६ ओभरमै ४१ रन जोडेर उत्कृष्ट सुरुआत दिलाए । त्यसपछि नेपालले ८ रनको अन्तरालमा २ विकेट गुमायो । पहिलो खेलमा शतकीय इनिङ खेलेका निरजले आज २० बलमा २२ रन बनाउँदा ३ छक्का प्रहार गरे । निश्चल क्षेत्री ३ रनमै आउट भए । सिब्रिन श्रेष्ठ र विकेटकिपर दिलसाद अलीले चौथो विकेटका लागि ४७ रन जोडे । ३६ ओभरमा १ सय ६२ रन जोड्दा नेपालले ६ विकेट गुमाएको थियो। अशोक र दर्श सोनारले इनिङ्स सम्हाले। दुबैले सातौं विकेटका लागि १३ ओभरमा १ सय ८ रनको साझेदारी गरे। सोनार ५८ बलमा ४५ रन बनाउँदै अविजित रहे । दिलसाद अलिले ३२, सिब्रिन श्रेष्ठले २५ र वंश क्षेत्रीले २४ रन जोडे । रोशन विश्वकर्माले २१ रन बनाउँदा २ चौका र १ छक्का प्रहार गरे। हङकङका लागि ड्यानियल म्याप र अभिमन्यु गणेशनले समान २ विकेट लिए । प्रित के मंगुकिया र अफ्ताब हुसेनले समान १ विकेट झारे । दुई दिनअघि पहिलो खेलमा नेपालले साउदी अरेबियालाई ८ विकेटले हराएको थियो। नेपालले फाइनल प्रवेशको लागि शनिवार मलेसियासँग खेल्नेछ। अर्को सेमिफाइनलमा घरेलु टोली संयुक्त अरब इमिराट्स (युएई) र ओमानबीच हुनेछ ।