सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कप्तान सन्दीप लामिछानेको प्रभावशाली बलिङमा विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित हात पारेको छ । कम योगफलको रोमाञ्चक प्रतिस्पर्धामा विराटनगरले जनकपुरलाई ९ रनले हरायो । जितका साथ विराटनगर ६ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जितका लागि १ सय ३६ रनको लक्ष्य पछाएको जनकपुर २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रनमा समेटियो । सहज लक्ष्य पाए पनि जनकपुरले सुरुवात राम्रो गर्न सकेन । ओपनर आशिफ शेख १३ रनमा सूर्य तामाङको बलमा बोल्ड आउट भए । त्यतिखेर टिमले १९ रन बनाएको थियो । पहिलो पावर प्लेमा जनकपुर ३५ रनमा नै रोकियो । जुन विराटनगरले पावर प्लेमा बनाएको भन्दा ५ रनले कम हो । त्यसपछि सातौं ओभरको चौथो बलमा कप्तान अनिल शाह १४ बल खेलेर ४ रनमा सन्दीप लामिछानेको बलमा जर्ज मुन्सेद्वारा क्याच आउट हुन पुगे । ३५ रनमा दोस्रो विकेट गुमाएको जनकपुरले तेस्रो विकेट नवौं ओभरमा गुमायो । ओपनर लाहिरू मिलान्था २२ बल खेल्दै २ चौका र १ छक्का सहित २३ रन जोडेर सन्दीपको बलमा बोल्ड आउट भए । पहिलो क्रमका तीन ब्याटर गुमाउँदा जनकपुरले मात्र ४६ रन बनाएको थियो । १० ओभरको समाप्तिमा ६१ रन बनाएको जनकपुरलाई अन्तिम ६० बलमा जितको लागि ७५ रन जोड्नुपर्ने थियो । चौथो विकेटको रूपमा सञ्जय कृष्णमुर्ती आउट भए । १२ बलमा २ चौका र १ छक्कासहित २० रन जोडेका उनलाई सूर्यले पबिलियनको बाटो देखाइदिए । लगत्तै मयन यादव ४ रनमा आउट भए। ५ विकेटको नोक्सानीमा ७७ रन बनाएको जनकपुरलाई ३७ बलमा जितको लागि ५९ रन जरूरी थियो । खेल प्रतिस्पर्धात्मक बनेको थियो । त्यसपछि १५ औं ओभरमा ११ र १६ औं ओभरमा १४ रन जोड्दै जनकपुरले जितलाई सहज बनायो । तर १८ औं ओभरमा सन्दीपको ओभर निकै महत्वपूर्ण रहयो । उनले यो ओभरमा वाइडबाट १ रन दिएर २ विकेट लिए । रुपेश सिंहलाई ८ रनमा र संगिथलाई डक आउट गरे । त्यसपछि अन्तिम १२ बलमा जनकपुरलाई २३ रन जरुरी थियो । जहाँ मर्चेन्टले १ रन बनाएका आदित्य महतालाई एलबिडब्लु धरापमा पारे । यो सँगै ६ बलमा जनकपुरलाई १७ रन जोड्नु थियो । बलिङमा प्रतिश जिसी आए । दोस्रो बल वाइड थियो । यही बलमा जान निकोल लोफ्टी लोकेश बमद्वारा रन आउट भए । उनी ३० बलमा ४१ रन जोडेर आउट भए । तेस्रो बलमा ललित राजवंशीले चौका हाने । तर पनि यो ओभरमा ७ रन मात्र संभव हुँदा खेल बिराटनगरले जित्यो । सन्दीपले सानदार बलिङ गरे । ४ ओभरमा ११ रन दिएर ४ विकेट लिए । सूर्यले २ विकेट लिए । टियु क्रिकेट स्टेडियममा आज जनकपुरले टस जितेर बलिङ रोज्यो । विराटनगरले २० ओभरमा ७ विकेट गुुमाएर १ सय ३५ रन बनायो । जनकपुरले बलिङमा स्पिनरलाई जिम्मेवारी दियो । दुवै एन्डबाट स्पिनर प्रयोग गर्दा जनकपुरले पहिलो पावर प्लेमा विराटनगरलाई मात्र ४० रनमा रोक्यो । यतिखेर विराटनगरले १ विकेट गुमाएको थियो । ओपनर जर्ज मुन्से १० बलमा संगीथ कोरेको बलमा बोल्ड आउट भए । पहिलो विकेटको क्षतिमा विराटनगरले मात्र २० रन बनाएको थियो । निरन्तर स्पिनरको अट्याकमा विराटनगरका खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन् । १५ बलमा १ चौका सहित १३ रन जोडेर मार्टिन गप्टिल आदित्य महताको बलमा किशोर महतोद्वारा क्याच आउट भए । उनी आउट हुँदा टोलीले ४५ रन बनाएको थियो । लगत्तै ओपनर लोकेश २६ बलमा २ चौका र १ छक्का सहित २८ रनमा संगिथको बलमा किशोरद्वारा समातिए । टप अर्डरका ३ ब्याटर आउट हुँदा विराटनगरले ५५ रन जोडेको थियो । जनकपुरले १० ओभरसम्म निरन्तर स्पिनरले बलिङ गरे । जहाँ रन जोड्न विराटनगरले संघर्ष गर्यो । १० ओभरको समाप्तिमा मात्र ५८ रनमा रोकिंदा विराटनगर दबाबमा आयो । पहिलो ओभरदेखि लगातार १६ ओभर स्पिनर प्रयोग गरेको जनकपुरले १७ औं ओभरमा भने पेश बलर किशोर महतोलाई बलिङमा ल्यायो । १८ औं ओभरमा रुपेश सिंहले बसिर अहमद र शुभम राञ्जानेको ५२ रनको साझेदारी तोडे । बसिर चौथो विकेटको रूपमा पबिलियन फर्किए । ३५ बल खेल्दै ३ छक्कासहित ३६ रनमा आउट भए । उनी आउट हुँदा टोलीले १ सय ७ रन बनाएको थियो । त्यही ओभरको अन्तिम बलमा रुपेशले २ रन बनाएका नारायण जोशीलाई आउट गरे । अन्तिम ओभरको दोस्रो बलमा रुपेशको बलमा शुभम विकेट किरप लोफ्टीद्वारा रन आउट हुन पुगे । शुभमले टोलीको लागि २९ बलमा २ चौका र २ छक्का सहित सर्वाधिक ३७ रन जोडे । लगत्तै अर्को बलमा मर्चान्ट डि लाङ्गे पनि रुपेशद्वारा रन आउट भए । उनले रनको खाता खोल्न सकेनन् । बलिङमा रूपेशले २ ओभरमा १२ रन दिएर २ विकेट लिंदै किफायती बलिङ गरे । संगिथले ४ ओभरमा ३६ रन दिएर २ विकेट झारे । यस्तै आदित्यले १ विकेट आफ्नो नाममा लेखाए । ३ खेलमा विराटनगरले ६ अंक बनाउँदा जनकपुरको यो लगातार दोस्रो हार हो। अहिले सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच दोस्रो खेल भइरहेको छ ।