‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने

आइतबार, मंसिर ७, २०८२

काठमाडौं । नेपालमा ठूलो व्यापारिक सफलता हासिल गरिसकेको फिल्म ‘जेरी अन टप’ अब मलेसियामा पनि प्रदर्शन हुने भएको छ । घरेलु बक्स अफिसमा १२ करोडभन्दा बढी आम्दानी गरेको यो फिल्म विदेशमा समेत उच्च चासोका साथ हेरिएको छ । मलेसिया बसेर व्यवसाय गर्दै आएका तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया–प्यासिफिक संयोजक हरि भट्टराईले मलेसियाका लागि फिल्मको प्रदर्शन अधिकार किनेका छन् । उनका अनुसार डिसेम्बरको पहिलो सातादेखि मुख्य सहरका हलहरूमा बक्स अफिस शो सुरु हुनेछ । भट्टराईले मलेसियामा कार्यरत करिब पाँच लाख नेपालीलाई लक्षित गरी शो तालिका मिलाउने बताए । ‘मलेसियामा दिनभर खटिने नेपाली श्रमिकका लागि चलचित्र राम्रो मनोरञ्जन र तनाव घटाउने माध्यम बन्ने विश्वास छ’, उनले भने । नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको फिल्म हाल यूरोप तथा मध्यपूर्वका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । साथै, यूके, दक्षिण कोरिया र थाइल्यान्डमा पनि रिलिज प्रक्रिया अघि बढिरहेको निर्माता पक्षले जनाएको छ । अनमोल केसीले अभिनय गरेका यस फिल्मले अनमोलको करियरमै सर्वाधिक कमाइ गरेको फिल्म मानिएको छ । निर्देशक सुयोग गुरुङले निर्देशित तथा अनन्या फिल्म्सको ब्यानरमा बनेको फिल्ममा आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायत कलाकारहरूको समेत अभिनय छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार