काठमाडौं गोर्खाजको ब्याटिङ नचल्दा विराटनगरलाई सामान्य लक्ष्य

शनिबार, मंसिर ६, २०८२

काठमाडौं । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाजले विराटनगर किंग्सलाई १ सय ३५ रनको सामान्य चुनौती दिएको छ । टस जितेर विराटनगरले बलिङ रोज्दै काठमाडौंलाई पहिले ब्याटिङको लागि उतार्‍यो । काठमाडौंले २० ओभर‌मा ६ विजेट गुमाउँदै १ सय ३४ रनको योगफल बनायो । ६ ओभरमा २२ रन मात्र जोड्दा काठमाडौंले ३ विकेट गुमाएर निकै कमजोर सुरूवात गर्‍यो । मर्चेन्ट डि लाङ्गेले पहिलो ओभरको पाँचौं बलमा आकाश त्रिपाठीलाई आउट गरे । यतिखेर काठमाडौंले रनको खाता समेत खोल्न सकेको थिएन ।‌ तेस्रो ओभरमा विराटनगरले दोस्रो विकेट लियो । रिकार्डो भासकोन्केलोस ३ रनमा रन आउट हुन पुगे । ७ रनमा २ विकेट गुमाएर सम्हालिन नपाउँदै काठमाडौंलाई तेस्रो झट्का लाग्यो । प्रतिक श्रेष्ठ ३ रनमा लाङ्गेको बलमा नै आउट भए । काठमाडौंले लगत्तै चौथो विकेट गुमायो। १० रन बनाएका गराथ इरासमस सूर्य तामाङद्वारा कट एन्ड बोल्ड भए ।
प्रभावशाली बलिङ गर्न सफल विराटनगरले २९ रन जोड्दा काठमाडौंको ४ विकेट लिंदै खेलमा दबाब बनायो । १० ओभरमा ४२ रन मात्र जोड्दा काठमाडौंले रन जोड्न निकै संघर्ष गर्‍यो । पाँचौं विकेटको रूपमा ओपनर बेन्स चार्लसवर्थ ३३ बलमा ३२ रन जोडेर आउट भए । निराशाजनक प्रदर्शन गरेको काठमाडौंले १५ ओभरको समाप्तिमा ७१ रन मात्र जोड्न सक्यो। १८ औं ओभरमा २४ बलमा २६ रन जोडेका सन्तोष यादवलाई सन्दीप लामिछानेले जर्ज मुन्सेद्वारा क्याच आउट गराए । संघर्ष गर्दै सुस्त गतिमा रन जोडेको काठमाडौंको लागि हिटर मोहम्मद आदिल आलमले सातौं क्रमका टोलीलाई रन जोड्न महत्वपूर्ण पारी खेले । दुई पटक विराटनगरका खेलाडीले क्याच ड्रप गर्दा जीवनदान पाएका आदिलले २५ बलमा ४ चौका र २ छक्का सहित अवजित ४८ रनको योगदान दिए । बलिङमा लाङ्गेले २ तथा शुभम र सन्दीपले १–१ विकेट लिए । यसअघि आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सललाई कर्णालीले ९ विकेटको हार चखाएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार