सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो । जितका लागि एक सय ४३ रनको मध्यम लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा चार विकेटको क्षतिमा एक सय ४६ रन जोड्दै लक्ष्य पूरा गरेको हो । लुम्बिनीका लागि गुलवदिन नैवले सर्वाधिक ४४ रन बनाए । २४ बलमा तीन चौका तीन छक्का हानेका गुलवदिन अविजित रहे । कप्तान रोहित पौडेलले ३९ रन बनाए । उनले ४४ बलमा एक चौका हाने । यस्तै ओपनर सन्दीप जोराले २८, डार्की सर्टले ११ र दीलिप नाथले १० रन बनाए । बलिङमा चितवनका रिजन ढकालले दुई तथा सोहिल तन्विरले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ४२ रन बनाएको थियो । चितवनका लागि रवि बोपराले अर्धसतकीय पालि खेले । सर्वाधिक ६६ रन बनाएका वोपराले ५५ बलमा चार चौका र तीन छक्का हाने । यस्तै कप्तान कुशल मल्लले २१, सैफ जैइफले १५, देव खनालले १४, ओपनर दीपक बोहराले १० र अर्जुन साउदले अविजित आठ रन बनाए । बलिङमा लुम्बिनीका रुवेन ट्रम्पलम्यानले तीन विकेट लिए । लुम्बिनीका रुवेन प्लेयर अफ दि म्याच भए । यस्तै अविशेष गौतम र गुलवादिन नैवले दुई–दुई विकेट लिए । एनपिएलमा पहिलो जितसँगै लुम्बिनीले दुई अङ्क बनाएको छ । दोस्रो खेलमा पहिलो हार खेपेको चितवनको पनि दुई अङ्क छ । यसअघि आफ्नो पहिलो खेलमा चितवनले कर्णालीलाई चार विकेटले हराएको थियो । एनपिएल अन्तर्गत शुक्रबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबिच साँझ ४ बजे प्रतिस्पर्धा हुनेछ ।