तेस्रो प्रयागराज स्मृति फुटसल प्रतियोगितामा १३ नं. वडा विजेयी 

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौँ । तेस्रो प्रयोगराज सिंह सुवाल अन्तरवडा फुटसल प्रतियोगितामा वडा नम्बर १३ को टीम विजेता बनेको छ ।  लैनचौर फुटसल मैदानमा कार्तिक २२ गते देखि सुरु भएको खेलको फाइनलमा आज वडा नं. ४ को समूहलाई पेनाल्टी गोलबाट हराएर वडा १३ को टीम विजेता भएको हो । निर्धारित समयमा दुवै टीमले गोल नगरेपछिको पेनाल्टीमा वडा नम्बर १३ ले २–० गोल अन्तरले उपाधि हासिल गरेको हो । उपाधिसँगै विजेता टोली वडा नं. १३ ले २ लाख रुपियाँ प्राप्त गर्‍यो । उपविजेता वडा नं. ४ ले १ लाख रुपियाँ पुरस्कार प्राप्त गर्‍यो । वडाध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, खेलका संयोजक गोपाल नापितले विजेताहरुलाई पुरस्कार, ट्रफी तथा प्रमाण पत्र प्रदान गरेका थिए ।   प्रतियोगितामा २५ वटा वडा र महानगरपालिका केन्द्र गरेर २६ वटा टीम सहभागी थिए । प्रतियोगिता नकआउटका आधारमा खेलाइएको थियो ।  वडा नं. १३ का विकेश शाही सर्वाधिक गोलकर्ता बन्न सफल भए । यस्तै वडा नम्बर १३ कै विशाल शाही उत्कृष्ट गोल रक्षक बने । वडा नम्बर ४ का विक्रान्तनरसिंह राणाले उत्कृष्ट खेलाडीको उपाधि पाए । उत्कृष्ट सबैलाई जनही १० हजार रुपियाँ नगदसहित मेडल र प्रमाण पत्र प्रदान गरियो ।  प्रतियोगिताको पहिलो संस्करणमा वडा नं १४ र दोस्रो संस्करणमा १६ ले उपाधि जितेका थिए । प्रतियोगिता समापन अवसरमा महानगरपालिकाका पूर्व प्रमुख (सभापति) प्रयागराजसिंह सुवाललाई सम्झना गर्दै वडाध्यक्ष महर्जनले भन्नुभयो, ‘२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न स्थानीय निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित भएपछि राजनीतिक जीवन प्रारम्भ गर्नुभएका सुवालले, महानगरपालिकाको सभापति (प्रमुख), राष्ट्रिय पञ्चायत सदस्य, सरकारको मन्त्रीसहित विभिन्न पदमा रहेर सेवा गरे । सुवाल एनआरटी क्लवको संस्थापक पनि छन् । उनको स्मरणीय राजनीतिक, खेल र सामाजिक क्षेत्रको योगदानलाई बचाइ राख्न फुटसल प्रतियोगिता आयोजना गरेका हौँ ।’‘अहिले महानगरपालिकाका वडाहरुले आफ्नै बजेटबाट खेल प्रतियोगिता गर्न सक्छन् । हामीले यही अभ्यास गरेका हौँ ।’ उनले भने, ‘वडाबाट कार्यक्रम सञ्चालन हुँदा स्थानीय सामाजिक गतिविधिमा वृद्धि भएको महसुस गरेको छु । उनले भन्नुभयो, खेलले अनुशासन र आपसी सद्भावमा दिने सन्देश सबैले ग्रहण गर्नुपर्छ ।’

प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार