कर्णाली याक्सले सम्पन्न गर्‍यो एनपिएल ट्रफी यात्रा 

शुक्रबार, कात्तिक २१, २०८२

काठमाडौं ।  कर्णाली याक्स स्पोट्र्स प्रालिले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली प्रदेशका शहर, धार्मिक स्थल तथा पर्यटकीय क्षेत्रमा ट्रफी यात्रा सम्पन्न गरेको छ । कर्णाली याक्सले कर्णाली प्रदेश क्रिकेट एसोसियनसँगको समन्वयमा पहिलो दिन (मंगलबार) सल्यानको कुपिण्डे ताल र खलंगा बजारमा ट्रफी यात्रा गरेको हो । दोस्रो दिन (बुधबार) सुर्खेतको काँक्रेविहारसँगै विरेन्द्रनगर परिक्रम गराइएको थियो । सो क्रममा हजारौं विद्यार्थी तथा स्थानीयले ट्रफी नजिकैबाट नियालेका थिए । बिहीबार प्रशिद्ध धार्मिकस्थल देउतीबज्यै मन्दिरमा पुर्‍याएर ट्रफीलाई सुदूरपश्चिम पठाइएको थियो । कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरूको पनि उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।  यसअघि बुधबार काँक्रेविहारबाट कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले ट्रफी अनावरण गरेका थिए ।
ट्रफी यात्राका कर्णाली याक्सका प्रतिनिधिसँगै कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेत, एनालिष्ट रवि थापा तथा खेलाडीहरू विपिनप्रसाद शर्मा, युनिससिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रे सहभागी भएका थिए ।  गत वर्ष २०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।  त्यस्तै यता, कर्णाली याक्सले जित्ने हरेक खेलबाट कर्णाली प्रदेश क्रिकेट संघले एक लाख रुपैयाँ पाउने भएको छ । कर्णाली याक्सका कन्सल्ट्यान्ट प्रशिक्षक राजु बस्नेतले कर्णाली याक्सले जित्ने हरेक खेलवापत एसियस पेन्टस्ले एक लाख रुपैयाँ कर्णालीको क्रिकेटको विकासका लागि उपलब्ध गराउने घोषणा सुर्खेतमा गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार