सरकारी तहबाटै धान खरिद भएपछि किसान हर्षित 

बुधबार, कात्तिक १९, २०८२

बर्दिया । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले बुधबारदेखि धान खरिदको सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नै नौ सय क्विन्टल भन्दा बढी धान खरिद गरेको छ ।  पहिलो दिनमा मोटा धान आठ सय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी चेतमान कठायतले बताए ।  सरकारले मोटा धानको समर्थन मुल्य ३४ सय ६३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भने मध्यम धान प्रतिक्विन्टल तीन हजार छ सय २८ रुपैयाँ तोकेको छ । खाद्यले सरकारले तोके कै न्यूनतम समर्थन मुल्यमा धान खरिद गरेको छ । धान खरिदको सुरुवात गरेपछि धान बेच्नका लागि खाद्य वरीपरी किसानको भिड लाग्ने गरेको छ । गत बर्षको तुलनामा केही दिन ढिला गरी खाद्यले धान खरिद सुरु गरेको छ । खाद्यले धान खरिद ढिलाई गर्दा कतिपय किसानले सस्तो मूल्यमा धान बिक्री गरेका थिए । खाद्यले धान खरिद गरेपछि किसानहरू हर्षित भएका छन् । सरकारले तोकेको मूल्यमा नै धान बेच्न पाएको गेरुवा गाउँपालिका वडा नं १ का किसान रामकृष्ण थारूले बताए ।  यस बर्ष खाद्यले ३० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको सूचना अधिकारी कठायतले बताए । उनले राजापुर नगरपालिकाको राजापुर र मानपुरटपरा र गेरुवा गाउँपालिकाको शान्तीबजारबाट धान खरिद गरिने बताए । मुख्य शाखा कार्यालय राजापुरका प्रमुख कमलार पाण्डेले सरकार मापदण्ड अनुसार धान सफा, स्वस्थ र नकाटिएको हुनपर्ने बताए । धान विक्रिका लागि बैंक खाता नम्बर नागरिकताको प्रतिलिपी सहित किसानले धान ल्याउनुपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार