सोसल मिडिया
Contact Us
युनिकोड
रामेछाप । सुनापति गाउँपालिकाको चौथो अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता–२०८२ सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले उद्घाटन गरेका हुन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदिप केसीका अनुसार प्रतियोगितामा ११ टिमले भाग लिएका छन् । सुनापति गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार, सिल्ड र प्रमाणपत्र पाउने छन् । उत्कृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् । गाउँपालिका भित्र रहेका खेलाडीलाई राष्ट्रिय स्तरका खेलाडीहरूसँग प्रतिस्पर्धा गराउने र आन्तरिक पर्यटक भित्त्रयाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष गीता विष्टले जानकारी दिइन् । प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्यसचिव घिसिङले यस्ता प्रतियोगिताले खेल क्षेत्रका विकासका साथै ग्रामीण पर्यटनको विकासमा सहयोग गर्ने बताए । अहिले खेलकुदको परिभाषा फेरिएको बताउँदै घिसिङले अब खेलकुद स्वास्थ्यको लागि मात्र होइन आयआर्जन गर्ने व्यवसायको रूपमा समेत विकास भएको उनको धारणा छ । ‘खेल क्षेत्र अब सामान्य स्वास्थ्यको क्षेत्र मात्र होइन, यो व्यावसायिक क्षेत्र बनेको छ, यो अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्र बनेको छ, खेल खेलेर पनि बाच्न सकिन्छ भन्ने उदाहरण नेपाली खेल क्षेत्रले स्थापित गर्दै गएको छ’, उनले भने । गाउँपालिका अध्यक्ष ठुलोकान्छा लामाले बिचमा रोकिएको सो प्रतियोगिता खेलाडीहरूको माग अनुसार यस वर्ष पुनः सञ्चालन गरिएको जानकारी दिए । प्रदेशस्तरको यो खेलले खेलाडीको मनोबल विकास गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । आउने वर्ष पुरस्कारको राशि समेत केही बढाएर प्रतियोगिता सञ्चालन गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । खेल कात्तिक १२ गतेसम्म चल्ने छ । प्रतियोगितामा रामेछाप र काभ्रेका खेलाडीले भाग लिएका छन् ।