सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा अमेरिकाले नेपाललाई २ सय ६३ रनको चुनौती दिएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर नेपालले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६२ रन बनायो । अमेरिकाले मध्यम सुरूवात गरेको हो । पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा मात्र ३२ रन बनाएको थियो । सोमपाल कामीले अमेरिकाका ओपनर आन्द्रीएस गाउसलाई आउट गरे । ११ रन बनाएका गाउस भीम सार्कीद्वारा क्याच आउट भए । अमेरिकाले पहिलो विकेट गुमाउँदा १७ रन बनाएको थियो । आरिफ शेखले दोस्रो विकेट लिए । १० रन जोडेका अमेरिकाका कप्तान मोनांक पटेललाई एलबिडब्लु धरापमा पारे ।
१३.५ ओभरमा दोस्रो विकेट गुमाउँदा अमेरिकाले ४५ रन मात्र बनाएको थियो । त्यसपछि ओपनर स्मित पटेल र साइतेजा मुक्कामल्लाले तेस्रो विकेटका लागि ९५ रनको साझेदारी गरे । सेट ब्याटर स्मित रन आउट भए । उनले १ सय बल खेल्दै ९ चौका सहित ७५ रनको इनिङ खेले । त्यतिखेर अमेरिकाले १ सय ४५ रन जोडेको थियो । नेपालको लागि चौथो विकेट लेग स्पिनर सन्दीप लामिछानेले लिए । उनले क्रिजमा जमेका साइतेजा मुक्कामल्लालाई बोल्ड आउट गरे । उनले ४२ रन बनाएका थिए । त्यसपछि शायान जाहन्गिर ११ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा आरिफ शेखद्वारा क्याच आउट भए । शुभम रानजाने १९ रनमा सन्दीपको बलमा गुलशन झाबाट क्याच आउट भए । नेपालले अन्तिम २ ओभरमा ३२ रन बेहोर्यो । ४९ औं ओभरमा सोमपालले १३ रन र ५० औं ओभरमा करणले १९ रन दिए । पाँचौं क्रमका ब्याटर मिलिन्द कुमारले उत्कृष्ट ब्याटिङ गर्दै ५० बलमा ६ चौका र २ छक्का सहित अविजित ७० रनको सानदार इनिङ खेले । हर्मित सिंह अविजित १६ रनमा रहे । बलिङमा सन्दीपले १० ओभरमा ५६ रन दिएर २ विकेट लिए । यस्तै सोमपाल, दिपेन्द्र र आरिफले समान १ विकेट लिए । लिग टु मा संघर्ष गरिरहेको नेपाललाई यो सिरिज निकै महत्वपूर्ण रहेको छ । मात्र १२ अंक सहित नेपाल अंक तालिकाको सातौं स्थानमा छ । अमेरिका २८ अंक सहित दोस्रो स्थानमा छ ।