नेपालको शानदार जित, ओमानलाई पराजित गर्दै टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा

बिहीबार, असोज ३०, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ ।  बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरूले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन दिँदै महत्वपूर्ण तीन विकेट लिए । त्यस्तै सोम्पाल कामी र नन्दन यादवले दुई–दुई विकेट लिए भने सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनायो । नेपालका लागि ओपनर कुशल भुर्तेलले महत्वपूर्ण अर्धशत प्रहार गरे ।  ५१ बलको सामना गरेका भुर्तेलले ७ चौका र एक छक्का सहित ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर आसिफ शेख २४ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले एक रन मात्र बनाए । उपकप्तान दीपेन्द्र सिंह ऐरिको ब्याटिङ चलेन । उनी २ रनमा आउट हुँदा कुलश मल्लले मात्र ७ रन बनाए । त्यस्तै आदिल आलमले १६ र गुल्शन झाले १८ रन बनाए । नन्दन यादवले ९ रन बनाउँदा सोम्पाल कामी एक रनमा नटआउट रहे । यो जितसँगै नेपाल ८ अंकसहित प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ भने ओमान ६ अंकसहित दोस्रो स्थानमा छ । सुपर सिक्समा ओमानसँगै यूएई र कतारलाई हराइसकेको नेपालले अन्तिम खेलमा भोलि शुक्रबार सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार