सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपालले आज आइसिसी पुरुष टि ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा संयुक्त अरब इमिरेट्स (युएई) लाई रोमाञ्चक खेलमा १ रनले हराएको छ । यो सँगै नेपालले महत्वपूर्ण २ अंक जोडेको छ । नेपालले सुपर सिक्समा ४ अंक बनाएको छ । नेपालको जितमा आसिफको अर्धशतक अनि दीपेन्द्र सिंह ऐरीको सानदार बलिङ प्रमुख कारण बन्यो । जितका लागि १ सय ४१ रनको चुनौती पछ्याएको युएई २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । नेपालले बलिङमा राम्रो सुरुवात गरेको थियो । पहिलो ओभरमा ललित राजवंशीले मेडन ओभर बलिङ गरे । दोस्रो ओभरमा सोमपाल कामीले मुहम्मद वासिमलाई कुशल भुर्तेलद्वारा क्याच आउट गराए । वासिम १ रनमा आउट भएका हुन् । चौथो ओभरको युएईले समाप्तिमा १ विकेट गुमाएर १४ रन बनाएको थियो । पाँचौं ओभरको दोस्रो बलमा नन्दन यादवको बलमा अलिसन सराफुको ब्याटमा कनेक्ट हुन नसकेको बलमा दीपेन्द्र र कप्तान रोहित पौडेलले क्याच छुटाए । त्यसपछि सराफुले सोही ओभरमा छक्का र चौका प्रहार गरे । उनी क्रिजमा जमे । पाँचौं ओभरमा ११ रन र छैटौं ओभरमा १५ रन जोडेर युएईले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ४० रन जोड्न सफल भएको थियो ।
सराफुले ३४ बलमा नन्दनलाई छक्का प्रहार गर्दै अर्धशतक बनाए । उनले अर्धशतक बनाउने क्रममा ३ चौका र ५ छक्का प्रहार गरे । सराफु र जोनाथन फिगीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गरे । १९ रनमा ओपनर जोनाथन दीपेन्द्रको बलमा आउट भए । त्यसपछि दीपेन्द्रले नै सराफुको महत्वपूर्ण विकेट लिए । उनी १४ औं ओभरको पहिलो बलमा बोल्ड आउट भए । ४० बलमा ५८ रन जोडेर पबिलियन फर्किए । लगतै हर्षित कौशिक २ रनमा गुलशन झाको बलमा नन्दनद्वारा क्याच आउट भए । त्यतिखेर युएईले ४ विकेटको नोक्सानीमा ९१ रन बनाएको थियो । १६ औं ओभर रोमाञ्चक बन्यो । यो ओभरमा नेपालले २ विकेट झार्यो । ७ रन बनाएका राहुल चोपरालाई दीपेन्द्रले उत्कृष्ट शैलीमा रन आउट गरे । लगत्तै अर्को बलमा बसिल हमिद सन्दीप लामिछानेको बलमा क्लिन बोल्ड आउट भए । १५.३ ओभरमा युएईले ६ विकेट गुमाउँदा युएईको ९६ रन थियो । युएईलाई यतिखेर जितको लागि २६ बलबाट ४५ रन जरूरी थियो । जहाँ १७ औं ओभरमा युएई १५ रन जोड्न सफल रह्यो । नन्दनको १९ औं ओभरमा युएईले १२ रन जोड्दा नेपाल दबाबमा आयो । तर अन्तिम ओभर अत्यन्त रोमाञ्चक बन्यो । अन्तिम ६ बलमा युएईलाई जितका लागि १० रनको आवश्यकता थियो । अन्तिम ओभरमा दीपेन्द्र बलिङमा आए ।
तेस्रो बलमा परासरले छक्का प्रहार गरे । बाँकी ३ बलमा ३ रन जरुरी थियो । जुन संभव हुन सकेन । चौथो बलमा परासर ३२ रन बनाएर सन्दीप जोराद्वारा क्याच आउट भए । पाँचौ बलमा हैदरलाई जोराले रन आउट गराए । अन्तिम बलमा जाहिद अली १ रन लिएर अर्को रन लिने क्रममा रन आउट भएका थिए । यो सँगै नेपालले १ रनको जित हात पारेको हो । बलिङमा दीपेन्द्रले ४ ओभरमा २२ रन दिएर ३ विकेट लिए । सन्दीप, गुलशन र सोमपाल समान विकेट लिंदा युएईका ३ खेलाडी रन आउट भए । त्यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा कप्तान रोहितले टस जितेर ब्याटिङको निर्णय लिएका थिए । नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन रन बनाएको थियो । ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो पावर प्लेमा ४५ रन जोडे । नेपालले राम्रो सुरुवात गर्यो । पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल आउट भए । २६ बलमस २ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडेर हर्षित कौशिकको बलमा एलबिडब्लु धरापमा परे । त्यसपछि रोहित क्रिजमा छिरे। आसिफसँग मिलेर ३९ रनको साझेदारी गरेपछि रोहित २० रनमा आउट भए । उनी मोहम्मद रोहिदको बलमा मोहम्मद फारूकको बलमा क्याच आउट भए । ४५ बलमा आसिफले अर्धशतक बनाए । ४७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ५१ रन जोडेर उनी आउट भए । उनी धुव्र परासरको बलमा बोल्ड आउट भएका हुन् । यतिखेर नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रन मात्रै बनाएको थियो । त्यसपछि बाँकी ४ ओभरमा नेपालले ३७ रन जोड्यो । दीपेन्द्र मात्र १ ,गुलशन १४ र कुशल मल्ल १० रनमा आउट भए । गुलशनले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे । सन्दीप जोर ४ र सोमपाल ६ रनमा नटआउट रहे । बलिङमा जुनेद सिद्दिकी, मोहम्मद रोसिद, जाहिद अलि, हैदर अलि, हरिश कौशिक र धुव्र परासरले समान विकेट लिए । सुपर सिक्समा नेपाल र ओमानको समान ४ अंक भएको छ । युएई र कतारको २ अंक छ । अब नेपालले भोलि कतारसँग खेल्नेछ । आज भएको पहिलो खेलमा ओमानले कतारलाई ३४ रनले हराउँदै महत्वपूर्ण २ अंक जोडेको छ। ओमानले २० ओभरमा ६ बिकेट गुमाउँदै १ सय ७२ रन जोड्यो । जवाफमा १ सय ७३ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३८ रनमा समेटियो ।