Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

दुई पटकको विश्वविजेता वेष्टइण्डिजलाई ८३ रनमा अल आउट गर्दै नेपालले जित्यो ऐतिहासिक उपाधि

मंगलबार, असोज १४, २०८२

काठमाडौं । नेपालले युनिटी कपको दोस्रो खेलमा वेष्टइण्डिजलाई ९० रनले हराउँदै एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ । तीन खेलको टी २० आई सिरिज नेपालले लगातार दोस्रो जितका साथ एक खेल अगावै जितेको हो । यो नेपालको टेस्ट टोलीविरुद्ध यो पहिलो टी २० आई सिरिज उपाधि समेत हो । जित्नलाई १ सय ७४ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिज १७।१ ओभरमा ८३ रनमा अल आउट भयो । वेष्टइण्डिजका जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए । नेपालले पावरप्ल (सुरुवाती ६ ओभरमा) मात्रै १६ रन खर्चेर २ विकेट लिएपछि वेष्टइण्डिजलाई नेपालले निरन्तर दबाबमा राख्न सफल भयो । नेपाली बलरसामु वेष्टइण्डिजका कुनैपनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् । ओपनर जेवल एन्ड्रयु २, कायल मेयर्स ६, केसी कार्टी १, एकिम अगष्ट १७, अमिर जांगो १६ रनमा आउट भए । नेपालको जितमा आदिल आलमले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । नियमित बलर नन्दन यादव घाइते भएपछि नेपालले आदिललाई दोस्रो खेलमा मौका दिएको थियो । प्रतिबन्धपछि पूनरागमन पहिलो खेलमै आदिलले उत्कृष्ट बलिंग गरेका हुन् । कुशल भुर्तेलले २.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी, करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए । त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनाएको थियो । नेपालको जितमा ओपनर आसिफ शेख ४७ बलमा ८ चौका र २ छक्कासहित ६८ रनमा नट आउट रहे । सन्दीप जोराले ३९ बलमा ३ चौका र ५ छक्कासहित ६३ रनको योगदान दिए । चौथो विकेटलाई सन्दीप र आसिफले एक सय रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपालको टी २० आईमा यो चौथो विकेटलाई भएको उच्च साझेदारीमा पनि पर्दछ । यसअघि नेपालबाट २०२३ मा आसिफ र रोहितले युएईविरुद्ध टि ट्वान्टी आईमा चौथो विकेटलाई ९९ रनको साझेदारी गरेका थिए । त्यस्तै टेस्ट टोलीविरुद्ध टि २० आईमा पहिलो पटक नेपाली ब्याटरको अर्धशतक र शतकीय साझेदारी पनि हो । स्पिनर अकिल हुसेनले कुशल भुर्तेललाई २ रनमा एलबिडब्लू आउट र कप्तान रोहितलाई ३ रनमा बोल्ड आउट गर्दै ३.३ ओभरमा १४/२ को अवस्थामा पुर्याएका थिए । त्यसपछि कुशल मल्ल ७ रनमा रन आउट भए । ननस्ट्राइकबाट रन लिन कुशल दौडिएपनि आसिफले पिचको केही भागमा आएर फर्किएपछि कुशल पुनः ननस्ट्राइकमा फर्किने क्रममा रन आउट भएका थिए । आदिल अन्सारी ५ बलमा १ चौका र १ छक्कासहित ११ तथा गुल्शन झाले ६ रन बनाए । वेष्टइण्डिजका अकिल हुसेन र कायल मेयर्सले समान २ विकेट लिए । युनिटी कपको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई १९ रनले हराएको थियो । नेपालले टेस्ट टोलीलाई आफ्नो इतिहासमा पहिलो पटक हराएको हो । अन्तिम खेल मंगलवार हुनेछ ।

nep-1-1759185611.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार