सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ । नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन् । चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन् । बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ’बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ । त्यसै गरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ । देशभरका अन्य हलहरूमा पनि उच्च सङ्ख्यामा शो प्राप्त भएको छ । समाचार तयार पार्दासम्म करिब २ सय शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३ सयसम्म पुग्न सक्ने वितरकको भनाइ छ । अग्रिम टिकट खुल्ने बित्तिकै कतिपय हलमा दर्शकले व्यापक रूपमा टिकट खरिद गरिरहेको देखिएको छ । यसअघि सार्वजनिक गरिएको पोस्टर, प्रि–टिजर, टिजर, गीत र ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ ठुलो उत्सुकता पैदा गरिसकेको छ । निर्देशक तथा निर्माता सन्तोष सेनका अनुसार, ‘बलिदान’ केवल मनोरञ्जनको साधन मात्र नभई देशप्रतिको कर्तव्य बोध र आमाप्रतिको माया–ममताको प्रतीक हो । ‘आशुसेन फिल्म्स प्रा.लि’ को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन् । देशभर शो सङ्ख्या तीव्र गतिमा बढिरहेको र दर्शकको चासो उच्च भएकाले चलचित्रले बक्स अफिसमा नयाँ रेकर्ड कायम गर्ने अपेक्षा गरिएको छ ।