नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ शनिबार प्रदर्शन हुँदै

बिहीबार, भदौ १२, २०८२

काठमाडौं । यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र ‘जय लाखय्’ यहि भाद्र १४ गते एफक्यूब सिनेमा, केएल टावर, चाबहिलमा प्रिमियर हुन लागेको छ ।  आठ वर्ष लगाएर निर्माण गरिएको यस चलचित्रमा नेवाः समुदायमा लाखेको इतिहासको महत्व दर्शाउन खोजिएको छ ।  आउँदो ईन्द्र जात्राको पर्व र नेपालको सांस्कृतिक इतिहासलाई नेपाल बाहिरका दर्शक र नयाँ पुस्तासम्म पुर्‍याउने जमर्को चलचित्रले गरेको छ । यस भन्दा पहिले ८ वर्ष अघि यन्त्रकलाले नेपालकै पहिलो एनिमेशन चलचित्र ‘शंखधर’ पनि रिलिज गरेको थियो । संस्कृतिविद् स्वर्गीय सत्य मोहन जोशीको कथा, संवाद र पटकथामा आधारित यस चलचित्रको सम्पादन र निर्देशन  संयुक्त श्रेष्ठले  गरेका छन् । संयुक्त र नियुक्त श्रेष्ठद्वारा एनिमेशन गरिएको  यस चलचित्रका निर्माताहरू बेलायतबाट अञ्जना श्रेष्ठ र लोचन मानन्धर र अमेरिकाबाट शैलेन्द्र मानन्धर र समीर महर्जन हुन् । गुठी अष्ट्रेलियाद्वारा प्रस्तुत यस चलचित्र निर्माणमा नेपाल ललितकला प्रतिष्ठान, नेपालभाषा एकेडेमी, नेपालभाषा टाइम्स, विश्व नेवाः संगठन र ज्यासः फिल्मस् लगायतको पनि सहकार्य रहेको छ । नेपालभाषा र नेपाली दुवै भाषामा निर्मित यस चलचित्रमा प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणको ऐतिहासिक सन्दर्भ पनि पहिलो पल्ट नेपाली दर्शकले हेर्न पाउने छन् । शनिबार हुने प्रिमियर शो बिहान ९ बजे नेपालभाषामा र ९ ः १५ बजे नेपालीमा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार