सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको कारणले दशौँ राष्टिय खेलकुद प्रतियोगिता प्रभावित नहुने भएकोले अब मिति तोक्दा मिति नसर्ने गरी तोक्न संघीय सरकारलाई आग्रह गरेका छन् । दशौं राष्टिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत आएका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएकोले अब त्यस्तो गल्ती नदोहोर्याउन सघीय सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट हामी प्रतिबद्व छौँ र त्यही अनुसार तयारी पनि गरिरहेका छौँ तर आयोजक तपाइहरू हो, अब पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला ।’ मुख्यमन्त्री कँडेलले मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह समेत गरे। मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यसअघि भएका कमजोरी दोहिरन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाए । उनले भने, ‘यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला ।’ मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टिय खेलकुद आयोजनाको सन्दर्भमा चासो सहित केही दिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्रीलाई सुझाव दिए । उनले भने, ‘केही दिन तपाईहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरी काम गर्नुस् भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यहि हो । एक अर्को प्रसंगमा मुख्यमन्त्री कँडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए । राष्टिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक सघीय सरकारले नै निर्माण गर्ने भए पनि दशौँ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पू्र्वाधार निर्माण गरेको बताउँदै मुख्यमन्त्री कँडेलले थप पूर्वाधार बनाउने कुरामा सघीय सरकारले सहजीकरण गर्नुपर्ने बताए । युवा तथा खेलकुदमन्त्री चौधरीले प्रतियोगिताका लागि अब मिति नसर्ने गरी तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे । उनले सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको जानकारी गराए । छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारीलगायतको उपस्थिति थियो ।