जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुँदै

महोत्सवले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास 
सोमबार, साउन १२, २०८२

काठमाडौं । नेपाली संगीतको भव्य महोत्सव पहिलो पटक जापानमा आयोजना गरिँदै छ ।  ‘नेपाल म्युजिक फेस्ट २०२५’ नाम दिएर यो संगीत महोत्सव आयोजना गर्न लागिएको हो । संगीत महोत्सव आगामी अगस्त महिनामा जापानका चार ठूला शहरहरू टोकियो, ओसाका, फुकुओका र नागोयामा आयोजना हुँदैछन् ।  ‘नेपाली संगीतलाई विश्वसँग जोड्ने’ मुख्य उद्देश्यसहित सुरु हुन लागेको यो फेस्टिभलले नेपाली संगीत, संस्कृति र समुदायलाई अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न मद्दत पुग्ने विश्वास लिइएको छ’  आयोजकका तर्फबाट जानकारी दिइएको छ । 
फेस्टिभलमा नेपालको चर्चित र लोकप्रिय संगीत समूहहरू स्वर, द एज र कबवेबले विशेष प्रस्तुति दिनेछन् । परम्परागत नेपाली धुनलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने स्वरले आफ्ना चर्चित गीतहरू ‘अपरिभाषित’, ‘बादल सारी’, ‘म मरे पनि’ जस्ता गीतमार्फत दर्शकको मन जित्ने तयारी गरेको छ । भावनात्मक ऊर्जा र सामाजिक सन्देश समेटिएका गीतमार्फत युवा पुस्तासँग गहिरो सम्बन्ध बनाउँदै आएको द एज ब्यान्डले यो फेस्टिभललाई आफ्नो २५औँ वार्षिकोत्सवकै रूपमा विशेष बनाउँदैछ । नेपाली रक संगीतमा क्रान्ति ल्याएको कबवेब ब्यान्डको उपस्थिति पनि कार्यक्रमको विशेष आकर्षण मानिएको छ ।
फेस्टिभल अगस्त ३ मा टोकियोको बेल साले टाकाडानोबाबाबाट सुरु हुनेछ, जुन क्रमशः ओसाकाको नाम्बा ह्याच, फुकुओकाको जेप्प फुकुओका र नागोयाको डायमन्ड हल हुँदै अगाडि बढ्नेछ । प्रवासी नेपाली मात्र नभई जापानी संगीतप्रेमीहरूलाई समेत लक्षित गरी आयोजना गर्न लागिएको फेस्टिभलले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने लक्ष्य राखेको छ ।
कार्यक्रमको टिकट मेरोटिकटमार्फत अनलाइन उपलब्ध हुनेछ । अर्ली बर्ड, स्ट्यान्डर्ड, फ्यान पिट र भिआइपी प्याकेजसहितका टिकटहरू डिजिटल रुपमा बिक्रीमा ल्याइनेछन्, जसमा ठगी रोक्न विशेष प्रविधि समेत प्रयोग गरिनेछ । तीनवटै भाषामा (नेपाली, जापानी र अङ्ग्रेजी) हुने प्रचार अभियान, कलाकारहरूको डिजिटल सन्देश, पोस्टर र ब्यानरमार्फत कार्यक्रमको व्यापक प्रचार गरिने योजना महोत्सव आयोजकले बनाएका छन् । 
फेस्टिभल इनडोर स्थानहरूमा आयोजना गरिने भएकाले व्यावसायिक ध्वनि प्रविधि, प्रकाश व्यवस्था, सुरक्षाकर्मी, द्विभाषिक कर्मचारी र आपतकालीन तयारीसहित सुरक्षित वातावरण सुनिश्चित गरिने आयोजकको भनाई रहेको छ ।  ‘हामी हाम्रो संगीत, हाम्रो संस्कृति, हाम्रो नेपालमा गर्व गर्छौं’ भन्ने नाराका साथ ल्याइएको नेपाल म्युजिक फेस्ट २०२५ नेपाली संगीतप्रेमीहरूका लागि ऐतिहासिक अवसर हुने देखिन्छ’ आयोजकले भनेका छन् । 

Di-1-1753681466.jpg
 

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार