सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल एएफसी महिला एसियन कप छनोट चरणबाट बाहिरिएको छ । शनिबार राति तेस्रो तथा अन्तिम घरेलुु टोली उज्वेकिस्तानसँग ३–३ को बराबरीपछि पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिएको हो । नेपाललाई हराउँदै आयोजक उज्वेकिस्तान एसियन कपमा छनोट भएको छ। पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा सानदार कमब्याक गरेको थियो । निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइ ब्रेकरबाट भएको हो । जहाँ नेपाल ४–२ ले पराजित भयो । टाइब्रेकरमा उज्वेकिस्तानको लागि माफतुना सोयीमोभा, उमिदा जोइरोभा, मदिना खिमातोभा र असलखोन अमिनजोनाभाले गोल गरे । नेपालको लागि गीता राना र साविता राना मगरले गोल गरे । पहिलो पेनाल्टी हानेकी गोल मसिन कप्तान सावित्रा भण्डारी ‘साम्बा’को प्रहार पोष्टमा लाग्यो । चौथोमा गोलकिपर अन्जना राना मगरको प्रहारलाई किपरले बचाइन् । त्यसअघि खेलको दोस्रो मिनेटमा नै उज्वेकिस्तानले अग्रता बनाएको थियो । फेरुजा टुर्डिबोएभाको सटलाई डिफेन्डर गीताले हेडर मार्फत ब्लक गरे पनि अनमार्क रहेकी खाबिबुलेएभाले बक्स भित्रबाट पहिलो बारमा गोल गर्दा गोलकिपर अन्जनाले कुनै मौका नै पाइनन् । पहिलो गोल खाएर सम्हालिन नपाउँदै नेपालले १२ औं मिनेटमा दोस्रो गोल बेहोर्यो । उज्वेकिस्तानकी कप्तान लिउडमिला कराचिकको क्रस गोल लाइन नजिकै रहेकी नेपालकी समिक्षा घिमिरेको खुट्टामा लागेर गोलमा परिणत भयो । खेलको २४ औं मिनेटमा नेपालले गोल फर्कायो । कप्तान साम्बाले गोल गरिन् । अन्जनाको लामो गोल किकमा उज्वेकिस्तानकी किपर मातफुना बक्स बाहिर आएर हेड गर्दै बल कलियर गर्न खोजिन् । बल क्लियर भएन । रश्मि कुमारी घिसिङले हेडर पास दिएको बललाई साम्बाले करिब २५ यार्डबाट हानेको लेफ्ट फुटेट सटले जाली चुम्यो। उनको यो ६१औं खेलमा ६५ औं गोल हो । नेपालले खेललाई २–१ मा पुर्याएको थियो । तर खेलको ३७ औं मिनेटमा सरस्वती हमालको ह्यान्ड भएपछि उज्वेकिस्तानले पेनाल्टीको अवसर पायो । मातफुना सोयीमोभाले गोल गरिन् । उज्वेकिस्तानले ३–१ को अग्रता बनायो । पहिलो हाफको इन्ज्युरी समयमा साम्बालाई फाउल हानेकी नोजिमाखोन इर्गासेबा दोहोरो पहेंको कार्ड पाउँदै मैदान बाहिरिन् । उज्वेकिस्तान १० जनामा समेटियो । दोस्रो हाफमा १० जनामा समेटिएको उज्वेकिस्तान विरूद्ध नेपालले आक्रमक खेल खेल्यो । ७१ औं मिनेटमा नेपालले गोल गर्यो । खेल ३–२ मा पुग्यो । लगतै ७२ औं मिनेटमा साम्बाले गोल गरिन् । साम्बाको त्यो ६४ औं गोल हो । नेपालले खेललाई ३–३ को रोमाञ्चक बराबरीमा पुर्यायो। यो हारमा नेपाल एसियन कपमा पुग्न सकेन । नेपाल विश्व कप र ओलम्पिक छनोट बाट पनि बाहिरिएको छ ।