सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आएको छ। तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ । समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन् । थप रोचक विषय, दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन्। जसले गर्दा यो अन्तिम खेल एक प्रकारको ‘फाइनल सरह’ बन्न पुगेको छ । जहाँ विजेता टोलीले एसियन कपको टिकट काट्ने छ । तर चुनौती सजिलो छैन। फिफा वरीयतामा उज्वेकिस्तान नेपालभन्दा धेरै माथि छ । उज्वेकिस्तान ५१ औं स्थानमा रहेको छ भने नेपाल एक सयौं स्थानमा। यसअघिको भेटमा नेपाल कमजोरी रह्यो । दुई टोलीबीच भएका ३ भेटमा उज्वेकिस्तानले सबै जित निकाल्दै ११ गोल गरेको छ । नेपालले ३ गोल मात्र फर्काउन सकेको छ । सन् २०१९ को नादेज्दा कपमा यी दुई टोली दुईपटक भिडेका थिए । समूह चरणमा २(० ले हार खेपेको नेपालले फाइनलमा पनि ३–२ को पराजय व्यहोरेको थियो । फाइनलमा ३–० को पछाडि परेको अवस्थामा सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलले नेपाललाई पुनः खेलमा फर्काउने प्रयास गरे पनि समय अभावले बराबरी सम्भव हुन सकेन। उज्वेकिस्तानसँग एसियन कपको पाँचपटकको अनुभव छ । जुन उसलाई थप आत्मविश्वास दिलाउने पक्ष हो। तर नेपाली टोलीका लागि यो इतिहास उल्ट्याउने अवसर हो । जसले नेपाली महिला फुटबलको नयाँ अध्यायको थालनी गर्न सक्छ। आजको खेल, केवल एक प्रतिस्पर्धा होइन, नेपालको सपना, इतिहास र सम्भावनाको संगम हुनेछ ।