सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल एसिसी यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । सिंगापुरलाई २ विकेटले हराउँदै नेपाल अपराजित रहँदै च्याम्पियन बनेको हो । जितका लागि १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए । लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए । तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो । चौथो विकेटको रूपमा प्रसिद्ध जैसी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए । कुनै पनि समय नेपालले साझेदारी बनाउन सकेन ।
शुभम खनाल १९ रनमा, सचिन भट्ट १ रनमा र विपिन प्रसाद शर्मा शुन्यमा आउट हुँदा नेपाल दबाबमा आयो । ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो । तर यसपछि जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा नटआउट रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे । बलिङमा कापिस भेन्कटरमन विकेट लिङदस युभान पाण्डेले २ विकेट लिए । त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०।५ ओभरमा अल आउट भएको थियो । सिंगापुरका रोहन अस्टिनले ८४ बलको सामना गर्दै सर्वाधिक २३ रन बनाए । कप्तान रियान नायकले ११ बलमा ३ चौकाको सहयोगमा १५ रन जोडे । वेदान्स गुप्ता १२ रनमा अविजित रहँदा आकाश तेजा १० रनमा आउट भए । सिंगापुरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका सुशील बहादुर रावल र अभय यादवले समान ३, शुभम खनालले २ तथा कप्तान विपिन प्रसाद शर्माले समान १ विकेट लिए । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनल पुगेको थियो। सिंगापुरले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।