कांग्रेस महाधिवेशनको मिति र कार्यतालिका तत्काल तय गर्न संग्रौलाको माग

मंगलबार, असार १७, २०८२
डिस होम विज्ञापन
Global Ime Bank

ललितपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौला पन्तले आन्तरिक मनमुटाव र गुटबन्दी त्यागेर पार्टीलाई चलायमान बनाउने गरी काम गर्नुपर्ने बेला आएको बताएकी छिन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा मंगलबार धारणा राख्दै पन्तले भ्रातृ संस्थाहरूको अधिवेशनमा ढिलाइ र नेता–कार्यकर्ताबीच बढ्दो दूरीका कारण पनि पार्टीलाई क्षति भइरहेको औल्याइएन् । यसैगरी, नेता–कार्यकर्ताबीच एकताको खाँचो औंल्याउँदै उनले महाधिवेशनको स्पष्ट मिति र कार्यतालिका तत्काल तय गर्न प्रस्ताव पनि गरेकी छिन् । ‘पार्टी विधानअनुसार महाधिवेशन वर्षमा क्रियाशील सदस्यता वितरण बन्द हुनुपर्छ, जसलाई कडाइका साथ लागू गर्नुपर्छ,’ उनले भनिन् । मंसिरमा महाधिवेशन हुने सम्भावना कम देखिएको भन्दै उनले समयमै कार्यतालिका बनाएर संगठनलाई गतिशील बनाउनुपर्नेमा जोड पनि दिइन् । यसैगरी, नेविसंघ, तरुण दल र महिला संघ जस्ता भ्रातृ संस्थाहरूमा देखिएको विवाद र अधिवेशनको ढिलाइले संगठनमा गम्भीर असर परेको भन्दै केही नेतृत्वले म्याद थप्दा पनि अधिवेशन गर्न नसक्नु र पद जोगाउने चिन्ताले समस्या निम्त्याएको उल्लेख गरिन् । भ्रातृ संस्थाहरूको अधिवेशनका लागि तत्काल कार्ययोजना बनाई समयसीमा तोकेर कार्यान्वयन गर्नुपर्ने पन्तको सुझाव छ । सरकारबारे धारणा राख्दै पन्तले वर्तमान गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति प्रभावकारी नभएको टिप्पणी गरिन् । यसैगरी मन्त्रीहरूको कमजोर भूमिका र सबै राम्रा कामको जस प्रधानमन्त्रीलाई जाने अवस्था अन्त्य हुनु पर्ने बताइन् । उनले भनिन् ‘केही साथीहरू सधैंभरी मन्त्री भइरहने भ्रममा हुनुछन्, त्यो भ्रमबाट मुक्त हुनुहोस् ।’ पेशागत तथा बुद्धिजीवी विभागको संयोजकको हैसियतले उनले सातै प्रदेशमा संविधान संशोधनको आवश्यकताबारे अन्तरक्रिया गरेको र प्रतिवेदन केन्द्रमा बुझाइसकिएको बताउँदै नेकपा एमालेसँगको सात बुँदे सहमतिमा उल्लेखित संविधान संशोधनको विषयलाई गम्भीरतापूर्वक लिएर कांग्रेसले संसदमा नेतृत्व गर्नुपर्नेमा पन्तको जोड थियो । आगामी चुनावमा नेकपा एमाले मुख्य प्रतिस्पर्धी हुने भएकाले अहिलेदेखि नै संगठन निर्माणमा ध्यान दिन र सरकारमा गएका मन्त्रीहरुले पनि इमान्दारिताका साथ काम गर्न आग्रह गरिन् । उनले भनिन् ‘मिसन २०८४ को चर्चा चुलिएको छ, तर के कांग्रेस एक्लै चुनाव लड्न तयार छ? यस विषयमा गम्भीर समिक्षा हुन जरुरी छ ।’ यस्तै, पुरक एसिया नामक गैरसरकारी संस्थाको सर्वेक्षण उद्धृत गर्दै उनले ८४ प्रतिशत जनता राजनीतिक दलहरूसँग असन्तुष्ट रहेको, ९४ प्रतिशतले दलहरूको मिलेमतोमा भ्रष्टाचार भइरहेको र ९० प्रतिशतले भ्रष्टहरूलाई दलहरूले नै संरक्षण गरेको ठान्ने गरेको तथ्यांक प्रस्तुत गर्दै मुलुकको जेठो र लोकतान्त्रिक पार्टी भएको नाताले यतातर्फ ध्यान दिएर जनताका निराशालाई आशामा बदल्न जरुरी रहेको बताइन् । ‘५४ प्रतिशत मतदाताले आगामी चुनावमा विगतभन्दा फरक दललाई भोट दिने र ७३ प्रतिशतले नयाँ नेतृत्व आएमा पुनर्विचार गर्न सक्ने बताएका छन्,’ उनले भनिन् । हालको सरकारप्रति ९ प्रतिशत मात्रै सन्तुष्ट रहेको उक्त सर्वेक्षणले देखाएको भन्दै यता तर्फ पनि पार्टीले ध्यान दिनु पर्नेमा जोड दिइन् । ‘कम्युनिस्ट पार्टीहरू दलाल र बिचौलियाको पकडमा छन् भने अर्को समूह लोकतन्त्र विरोधी गतिविधीमा लागेकाले नेपाली कांग्रेसले लोकतन्त्र जोगाउन सतिशाल भएर उभिनु पर्नेमा जोड दिँदै भनिन् ‘हामी सबै एकजुट भएमा लोकतन्त्र जोगाउन पर्याप्त छ ।’ बैठकमा उनले पार्टीको आन्तरिक एकता र अनुशासनलाई बलियो बनाएर २०८४ को चुनावमा बलियो उपस्थिति देखाउनुपर्नेमा जोड पनि दिइन् ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार