सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड ४१ लाख ४७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरको सातौँ नगरसभामा उपप्रमुख मन्जली शाक्य बज्राचार्यले आगामी वर्षको बजेट र स्रोत व्यवस्थापन तथा आन्तरिक प्रणालीमा सुधार तथा सहुलियतसम्बन्धी प्रस्ताव पेस गरेकी हुन् । आगामी वर्षको बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ४१ करोड २७ लाख ९४ हजार र बागमती प्रदेश सरकारबाट रु. १८ करोड २७ लाख ७२ हजार प्राप्त हुने अनुमान गरिएको शाक्यले बजेटमा प्रस्तुत गरिन् । त्यस्तै, आन्तरिक स्रोतको रूपमा रहेको आन्तरिक आय (आन्तरिक राजस्व, मालपोत रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर आदि) बाट रु. ३ अर्ब ७१ करोड ४६ लाख एकानब्बे हजार संकलन हुने अनुमान गरिएको छ । विकास निर्माणमा जनसहभागिताबापत ८ करोड ५० लाखबराबरको रकम प्राप्त हुने अपेक्षा गरिएको छ । आगामी आर्थिक वर्षमा महानगरलाई अन्तरसरकारी अख्तियारीबाट ९५ करोड १५ लाख प्राप्त हुने अपेक्षा लिइएको उपप्रमुख शाक्यले बताइन् । त्यस्तै, विनियोजन बजेटको लागि नपुग हुने १ अर्ब १२ करोड ७३ लाख ९० हजार नगद मौज्दातबाट व्यहोरिनेछ। आगामी आर्थिक वर्षमा महानगरले करको दायरा वृद्धिका लागि कर सचेतना कार्यक्रम चलाउनेछ । महानगरले नक्सा प्रशासनलाई व्यवस्थित गर्न भवन अभिलेखीकरणको लागि गत वर्ष भवन अभिलेखीकरण/नियमित गर्ने ऐन, २०८१ जारी भएको र सो अनुसार तीन महिनाको सूचना प्रकाशित गरी भवन अभिलेखीकरण/नियमित गर्न नगरवासीमा आह्वान गरिएकोले आगामी आ।व। मा भवन अभिलेखीकरणलगायत राजस्वका नयाँ र थप स्रोतहरुबाट १ अर्बभन्दा बढी आन्तरिक राजस्व थप हुने गरी बजेट प्रस्ताव गरिएकोछ । यस लक्ष्य प्राप्तिका लागि जनप्रतिनिधिहरु, कर्मचारीहरूलगायत सबैबाट समूचित प्रयास हुनेछ । ‘राजस्व प्रवद्र्धन र चुहावट नियन्त्रण गरी राजस्व वृद्धि गर्नमा यहाँहरु सबैको साथ सहयोग रहने छ भन्ने मैले अपेक्षा लिएको छु,’ उपप्रमुख शाक्यले भनिन्,’ राजस्व प्रणालीमा सुधार गरिएको र वडा कार्यालयबाट नै कर संकलन गरिने क्षेत्रको विस्तार गरिएकोले कर संकलनमा वृद्धि हुनेछ भन्ने विश्वास लिएको छु। आगामी आर्थिक वर्षका लागि करका दरमा गरिएको परिवर्तन तथा थप/घट सम्बन्धी व्यवस्थाहरु अर्थ विधेयकमा समावेश गरी सभामा छुट्टै प्रस्तुत गरिनेछ ।’