सर्वनाशले ल्याए ‘के भाको’

बिहीबार, वैशाख १८, २०८२
मयुर प्लाई

काठमाडौँ । सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा र्‍यापर सरोज मगरले नयाँ र्‍याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई सार्वजनिक गरेका हुन् । युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र र्‍यापमा सर्वनाशलाई डी–चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रेकड्र्सले तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ । गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मेहनत गरेको बताए । उनले भने,‘र्‍यापमा केही गर्ने कोसिस छ, यो भावना व्यक्त गरेको र्‍याप गीत हो । हामीले सुखदुःख र आफ्नो भावनालाई यस्तै र्‍याप गीतमार्फत सार्वजनिक गर्ने गरेका छौँ । हाम्रो गीत सुन्नेले हामीलाई त्यहिबाट चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो गीत मात्र नभई हाम्रो भावना हो ।’ उनले गीतअनुसार नै भिडियो पनि तयार परेको बताए । गीतको भिडियोलाई जुमनले तपार परेका हुन् । उनकै समूहले छायाङ्कन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो । भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरिङ छन् । ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियो हेरेपछि सिनियर र्‍यापर हाकिम गुरुङले सबै टिमलाई बधाई दिए । पछिल्लो समय र्याप परिमार्जित र परिस्कृत भइरहेको उनले बताए । ‘पछिल्लो समय नयाँ पुस्ताले र्‍यापलाई सौखसँगै व्यवसायीकरण पनि गरिरहेका छन् । यसले पनि आगामी दिनमा नेपालमा र्याप विधाको भविष्य झन् राम्रो हुनेमा विश्वस्त छु । र्‍याप आफ्नो बेदना, भावना र पिडासँगै समाजको यथार्थलाई बाहिर ल्याउने माध्यम हो हामी र्‍यापरको लागि’, र्‍यापर हाकिमले भने । उक्त कार्यक्रममा चलचित्र पत्रकार सङ्घका पूर्व उपाध्यक्ष कुवेर डंगोल, फिल्म निर्माता तथा अभिनेता किरण नेपाली लगायत उपस्थित थिए । निर्माता नेपालीले आफूले र्‍यापरकै विषयमा एउटा फिल्म निर्माण गर्न लागेता पनि विविध कारणले पुरा हुननसकेको तर भविष्यमा त्यो फिल्म बन्ने विश्वास व्यक्त गरे । ‘मैले र्‍याप सुनेको छु र यसका शब्दलाई महसुस गरेको छु । त्यसकारण मैले फिल्म बनाउने तयारी गरे, भिटेन त्यसमा अभिनय गर्दै थिएँ । विविध कारणले त्यो पुरा हुनसकेन । तर , भविष्यमा त्यो विषयलाई केही परिमार्जन गरेर पुनः फिल्म बनाउन सक्नेछु’, निर्माता नेपालीले भने । र्‍यापर सर्वनाशको यसअगाडि ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’, ‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका र्‍याप गीत सार्वजनिक भइसकेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार