त्रिभुवन विश्वविद्यालयलाई डिजिटलाइजेसन लान ढिला भइसक्यो : यमन सिंह बोहरा

'प्राज्ञ र कर्मचारी नियुक्तिमा ढिलाई हुँदा विश्वविद्यालयमा समस्या आयो'
शनिबार, जेठ ५, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

विश्वविद्यालयका कर्मचारीहरु कैंचीका धार जस्तै हुन्, राजनीतिक नेतृत्वले जसरी चलाउँछन उसैगरी आकार दिने हो ।
नेपालका झण्डै ८० प्रतिशत जनशक्ति एवम विद्यार्थीहरु त्रिविकै उत्पादन हुन् ।
त्रिविलाई डिजिटललाइजेसनमा लैजानेगरी कामहरु अघि बढेका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका सहप्रशासक तथा त्रिवि शैक्षिक परिषद(एकेडेमिक काउन्सिल)का प्रमुख  यमन सिंह बोहराले विश्वविद्यालयमा कर्मचारी र प्राज्ञहरुको नियुक्तिमा ढिलाई भएका कारण परीक्षा र नतिजा प्रकाशनमा अपेक्षित रुपमा केही ढिलो भएको बताएका छन् । 
विश्वविद्यालयको प्रक्रिया, उपलब्ध जनशक्ति र विद्यमान कानुन अनुसार सहज र सरल रुपमा काम भइरहेको भएपनि बाहिरबाट हेर्दा ढिलासुस्ती देखिएको प्रतिक्रिया दिएका हुन् । 
नेपाल न्युज बैंकसँग कुराकानी गर्दै उनले भने, ‘त्रिभुवन विश्वविद्यालयमा कर्मचारी र प्राज्ञहरुका लागि विज्ञापन ढिला भएको हिसाबले अपेक्षितभन्दा काम कारवाही ढिलो भएको छ । एकेडेमिक स्टाफहरु कम हुनुहुन्छ । दरबन्दी भन्दा कममात्र कर्मचारी भएका कारण पनि यस्तो समस्या भएको हो जस्तो लाग्छ । म आफैं पनि कर्मचारी नभइ आम जनताको तहबाट हेर्दा कामहरु अपेक्षित रुपमा नभएको जस्तो त लाग्छ । तर त्यो भित्रका प्रक्रिया र उपलब्ध जनशक्ति, साधन स्रोत र सबै किसिमको नियम कानुन हेर्दाखेरि अहिलेको स्थितिमा सहज र सामान्य रुपमा काम भइरहेको जस्तो लाग्छ ।’
अहिलेको अवस्थामा केही कर्मचारी पदपुर्ति भइसकेकाले अझै सरल र सहज हुँदै जाने विश्वास बोहराले व्यक्त गरे । 
शैक्षिक क्षेत्रबाट राष्ट्रको आवश्यक्ता परिपुर्ति गर्ने सवालमा त्रिभुवन विश्वविद्यालय अग्रपंक्तिमा रहेको दाबी गर्दै उनले नेपालका झण्डै ८० प्रतिशत विद्यार्थी लाभान्वित भइरहेका समेत बताए । 
उनले भने, ‘ यस विश्वविद्यालयका देशभर हालको अवस्थामा ६२ वटा आंगिक क्याम्पसहरु, चारवटा अनुसन्धान केन्द्र र अध्ययन संस्थानहरु छन् । टीयूको आफ्नै संरचना छ । यस विश्वविद्यालयले देशलाई आवश्यक पर्ने दक्ष शैक्षिक गुणस्तरीय जनशक्ति स्थापना गर्ने हो । गरिरहेको प्रमाण तपाइँ स्वयम देखिरहनु भएको छ । नेपालका झण्डै ८० प्रतिशत विद्यार्थीहरु लाभान्वित भइरहेका छन् । समग्र देशको शैक्षिक क्षेत्रको विकास र उन्नयन गर्न ठूलो मद्दत गरेको छ ।’ त्यस्तै सहप्रशासक बोहराले हरेक क्षेत्र जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक हस्तक्षेप कायमै रहेको स्विकारे ।  राजनीतिक हस्तक्षेपका बाबजुद त्रिभुवन विश्वविद्यालय आफ्नै विधि, विधानले चलिरहेको उनको भनाइ छ ।  उनले भने, ‘राजनीतिले कर्मचारीतन्त्रको नियुक्ति र परिचालन गर्ने सन्दर्भमा कहीं कतै राजनीतिक हस्तक्षेप देखिन्छ । यसलाई कसरी पनि हेर्न सकिन्छ भने नेतृत्व भनेको कैंची चलाउने हो भने कर्मचारी भनेको कैंचीको धार जस्तै हुन् । नेतृत्वले जसरी चलाउनुहुन्छ कैंची त्यसरी नै चल्छ । त्यसैले अन्य क्षेत्रमा जस्तै त्रिभुवन विश्वविद्यालयमा पनि राजनीतिक प्रभाव नपरेको र राजनीतिले नछोएको त भन्न सकिदैन तर स्वायत्त संस्था भएकाले, आफ्नै नीति, नियम भएकाले आफ्नै गतिमा चलिरहेको छ । आफ्नै नीति अनुसार चलिरहेको छ ।’

विश्वविद्यालयमा उपलब्ध स्रोत र साधनको सदुपयोग गर्दै युग सुहाउँदो शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै उनले भएको पाठ्यक्रमलाई मजबुत र परिष्कृत गर्दै लगिरहेको बताए ।  उनले भने, ‘समयसापेक्ष र युग सुहाउँदो शिक्षा प्रदान गर्न अहिले अध्ययन अध्यापन गरिदै आएको पाठ्यक्रममलाई परिष्कृत गरेर समयअनुसारको कोर्ष कन्टेनहरु बनाउने सवालमा त्रिभुवन विश्वविद्यालय पछि परेको छैन । समय अनुसार र अन्य मुलुकहरुमा पढाइने कोर्ष र पाठ्यक्रमहरुलाई आधार मानेर पनि त्रिविमा रहनुभएका एकेडेमिक फिल्डका प्राज्ञिकहरुबाट अर्थात जो आधिकारिक रुपमा दक्ष हुनुहुन्छ उहाँहरुबाट नियमानुसार अध्यापन गराइँदै आएको छ । नयाँ कन्टेन्टहरुको उत्पादन गर्ने, स्वीकृत गर्ने, अनुमोदन गर्ने, लागु गर्ने कुराहरु भइरहेको छ । त्यही अनुसार सम्बन्धित विषयका विद्यार्थीहरु लाभान्वित भइरहेका छन् ।’  आम जनतामा नेपालमा एकमात्र त्रिभुवन विश्वविद्यलय रहेको भन्ने भान परिरहेको उल्लेख गर्दैै बोहराले विश्वविद्यालयभित्र पनि आफ्नै चुनौतिहरु रहेको सुनाए । 
संसारबाटै म्यानुअल सिस्टम विस्थापित भइ डिजिटलाइजेसनको युग सुरु भइसकेको उल्लेख गर्दै उनले यसका लागि अगाडि बढ्नुपर्ने बताए ।  उनले भने, ‘अहिले डिजिटलाइसेनको युग छ । म्यानुअल सिस्टम विस्थापित भइसकेको अवस्था पनि छ । अब सबै कुराहरु पेपरलेस गर्ने बेला भएको छ । एकेडेमिक क्यालेण्डरलाई कार्यान्वय गर्नुपर्ने अनिवार्य आवश्यक भएको छ । यसका लागि सबैजना तयार भएर लाग्नुपर्ने छ । संस्थाका लागि एकजुट भएर लाग्नुपर्ने बेला भइसकेको छ ।’
 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार