आगामी वर्षबाट शिक्षकले मासिक रुपमा तलब पाउने 

५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा 
मंगलबार, जेठ १, २०८१

काठमाडौं । चार-चार महिनामा तलब पाउने शिक्षकले आगामी आर्थिक वर्षदेखि मासिक पाउने भएका छन् ।   राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सदनमा मंगलबार आगामी आर्थिक वर्ष २०८१-८२ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षकलाई मासिक रूपमा सरकारले तलब दिने बताएका हुन् ।  ‘शिक्षकको पारिश्रमिक मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाइने छ,’ पौडेलले भने ।  शिक्षकलाई राजनीतिक दलसँग आबद्ध हुन नदिने कानुनी व्यवस्था कार्यान्वयन गर्नेमा सरकारले नीति कार्यक्रममा जोड दिएको छ ।  यस्तै, विद्यालय शिक्षक बन्न अब शिक्षाशास्त्र अध्ययन गर्नैपर्ने बाध्यता हटाउने तयारी पनि गरिएको छ । सरकारले माध्यमिक विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षकको अभाव हटाउन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई मूल्यांकनसहितको शिक्षक इन्टर्नसीप पढाउने प्रबन्ध गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । 

५ वर्षभित्र आधारभूत शिक्षा सुनिश्चित गर्ने घोषणा 
सरकारले अगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्ति सुनिश्चित गर्ने घोषणा गरेको छ ।  मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अगामी सरकारको आर्थिक वर्षको नीति तथा कार्यक्रम सुनाउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई अनौपचारिक शिक्षा प्रदान गरिने बताएका हुन् ।  उनका अनुसार प्रारम्भिक तथा बालविकास शिक्षा प्रणालीलाई परिमार्जित गरिने नीति सरकारले लिनेछ ।  
जेष्ठ नागरिकका तर्फबाट नयाँ पुस्ताका बालबालिका तथा युवा वर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण आवश्यक प्रबन्ध गरिने पौडेलले बताए ।  त्यस्तै, विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाई शिक्षण सिकाइमा रहेको असमानता कम गर्ने पनि सरकारको नीति रहेको राष्ट्रपति पौडेलले पढेर सुनाए । 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार