ललितपुर महानगरपालिका–२४ धापाखेलमा पहिरोसँगै ढल्यो घर 

सोमबार, असोज १२, २०८३

धापाखेल(ललितपुर) ।  ललितपुर महानगरपालिका–२४ धापाखेल स्थित सोबित कुमार थापाको साढे २ तले घर पहिरोसँगै ढलेको छ । सोमबार बिहान ५ : ३५ बजे उक्त घर ढलेको हो ।  जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अविरल वर्षापछि आएको पहिरोले उक्त घर ढालेर महादेव खोलामा पुर्‍याएको छ । घरसँगै खसेको पहिरोका कारण खोला समेत थुनिएको छ। सो ठाउँमा आइतबारदेखि पहिरो खस्न सुरू भएको थियो । आइतबार दिउँसो १ : ४० बजे घरको भुइँतलासँगै जोडिएको ट्रसले बनेको किचन २० मिटर तल खसेको थियो । थापाका तीन जनाको परिवार बस्दै आएका थिए । पहिरिन थालेपछि आइतबार नै उनीहरू आफन्तकोमा सरिसकेकाले मानवीय क्षति नभएको एसपी मिश्रले जानकारी दिए । घटनास्थलमा ललितपुर महानगर प्रहरी बलको टोली, सशस्त्र प्रहरी बलको टोली, नेपाली प्रहरीको टोली, प्रहरी प्रभाग धापाखेलका टोली खटिएको छ। घर ढलेपछि त्यहाँ रहेका सामानहरू महानगर प्रहरीले सुरक्षित स्थानमा सारिरहेको छ। सातदोबाटो प्रहरी वृत्तबाट मुचुल्का टोली खटिएको एसपी मिश्रले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १०:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार