नयाँ समीकरणकाे चर्चा निराधार : नेकपा एस

मंगलबार, वैशाख २५, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीभित्र अन्तरविरोध नभएको बताउँदै नयाँ समीकरण बनाउने चर्चा पनि निराधार रहेको जनाएको छ । जनता समाजवादी पार्टी विभाजनका सन्दर्भमा नेकपा एसले आफ्नो पार्टी पनि वैकल्पिक समीकरणको कसरतमा लागेको भन्ने आरोपलाई खण्डन गर्दै वर्तमान सत्ता समीकरणप्रति प्रतिबद्ध भएको जनाएको हो । नेकपा एसको सोमबार बसेको संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालले सरकारका कतिपय काम कामप्रति असन्तुष्टि भए पनि वैकल्पिक समीमकरण बनाउने खोजेको भन्दै गलत प्रचार गरिएको बताए । ‘म, शेरबहादुर देउवा र उपेन्द्र यादवबीच वैकल्पिक समीकरण बनाउनेबारे छलफल नै भएको छैन । अर्को समीकरण बनाउन खोजेको भन्ने हल्ला गलत हो,’ उनले भने, 'सत्तारुढ दलमा समस्या भए छलफल गरेर समाधान गरिनुपर्छ । यो समीकरणको विकल्पमा जाने होइन, बरु उत्पन्न समस्या छलफलबाट समाधान गरेर जानुपर्छ । संसदीय दलका प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि जारी विज्ञप्तिमा संसदीय दलमा कुनै समस्या नभएको बताएका छन् । ‘यस बीचमा संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरु गलत रहेको र त्यस्ता भ्रमहरुमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार