इलाममा –२ मा जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने  

इलाम २ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा
बुधबार, वैशाख १९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलाम क्षेत्र नम्बर २ मा पार्टीको हार भएपछि  पराजयबाट पाठ सिकेको बताएका छन् । 
उपप्रधान एवं गृहमन्त्री समेत रहेका लामिछानेले इलाम–२ को उपनिर्वाचनमा आफ्ना  उमेदवार मिलन लिम्बूको पराजय स्वीकार गर्दै उपनिर्वाचनमा जित्न नसकेपनि सिक्ने अवसर मिलेको र जिम्मेवार ढंगले प्रस्तुत हुन कार्यकर्तालाई आग्रह गरेका छन् ।


निर्वाचित भएका नेकपा एमालेका सुहाङ नेम्वाङलाई बधाई दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै इफ बटको सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ ।’
१५ बैशाखमा प्रतिनिधि सभा सदस्यका लागि इलाम–२ को उपनिर्वाचनमा रास्वपाका उमेदवार मिलन लिम्बूले ५ हजार ५० मत मात्रै ल्याएका थिए । 

इलाम २ को उपनिर्वाचनले चटकेहरुलाई ठेगान लगाइदियो : रामहरि खतिवडा
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम कांग्रेस नेता रामहरि खतिवडाले इलाम २ को उपनिर्वाचनको परिणामले कांग्रेस र एमालेमात्र मुलुकका शक्तिशाली दल रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् ।
मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मुलुकका लागि कांग्रेस र एमालेको ठूलो जिम्मेवारी रहेको बताए । 


सभापति खतिवडाले पराजित भएको नेपाली कांग्रेसले महागठबन्धनसँगको प्रतिस्पर्धामा पाएको मत सम्मानजनक रहेको र मत परिणामको गम्भीर समीक्षा गर्दै भावी योजना तय गर्नुपर्ने बताए । उनले साना चटकेहरुलाई मतदाताले ठेगान लगाइदिएको पनि बताए । 
‘इलाम २ को उपनिर्वाचनले कांग्रेस र एमाले यो देशका प्रमुख शक्ति हुन भन्ने थप प्रमाणित भएको छ । महागठबन्धनविरुद्ध कांग्रेसको मत सम्मानजनक छ । मतदाताले चटके(साना दल र स्वतन्त्र उम्मेदवार)हरुलाई ठेगान लगाएको छ । ०८४ को निर्वाचनसम्ममा देशमा जन्मिएका चटकेहरु सबै ठेगान लाग्नेछन,’ खतिवडाले भने । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०५:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार