मनमोहन जनताको सच्चा मित्र : पूर्वराष्ट्रपति भण्डारी

बिहीबार, वैशाख १३, २०८१

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारी नेपालका ज्येष्ठ नागरिक र ग्रामीण भेगका जनताले सच्चा मित्र र असल नेताको रूपमा सम्झने गरेका बताएकी छन् ।  नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले मनमोहन अधिकारीले ल्याएको ज्येष्ठ नागरिक सुरक्षा भत्ता दक्षिण एसियाकै नमुना कार्यक्रम भएको बताएकी हुन् । ‘यसले गर्दा आज पनि मनमोहन अधिकारीलाई देश भरिका ज्येष्ठ नागरिकले सच्चा मित्र र असल नेताको रूपमा सम्झन्छन् र सम्मान गर्दछन्’, भण्डारीले भनिन् ।  अधिकारी नेपालको समकालीन राजनीतिका निष्कलङ्क र सम्मानित नेता भएको भण्डारीले बताइन् । उनी नेपालको कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व भएको पनि उनले स्मरण गरिन् ।  राणा शासन र पञ्चायत विरुद्धको आन्दोलनमा सहभागी हुने सिलसिलामा उनले पटक पटक गरी १४ वर्ष लामो जेल जीवन बिताएको भण्डारीले बताइन् । गाउँको विकास र मुलुकको अन्तराष्ट्रिय छवि उज्यालो बनाउन अधिकारीको महत्त्वपूर्ण योगदान रहेको भण्डारीको धारणा छ ।  मनमोहन अधिकारीको सिङ्गो जीवन नयाँ पुस्ताको लागि अध्ययन गर्ने पर्ने खुल्ला किताब भएको बताइन् । आजका उपलब्धि कसैको निग्रहले दिएको नभई उनी जस्तै नेताहरूको त्याग र बलिदानले प्राप्त भएको भण्डारीले स्पष्ट पारिन ।

नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ : ईश्वर पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन् ।  नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उनको सादगीबाट पाठ सिक्नु पर्ने बताए । उनले  सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे । उनी सादगीको पर्याय भएको पोखरेलले बताए ।  नेपाको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने उनले बताए ।

Ishwor1696595154.jpg
अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत योगदान गरेको पोखरेलले स्मरण गरे । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नु पर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ’, पोखरेलले भने ।  मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले स्मरण गरे । नेपालको भूराजनीतिक संवेदनशीलता उनी अत्यन्त रहेको पनि पोखरेलले स्मरण गरे ।  उनले देखाएको सो बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए ।  मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको पोखरेलले स्मरण गरे । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानको ती क्षेत्रमा काम गरिरहेको उनले स्पष्ट पारे ।  अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उनले बताए । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार