जोखिमकै बीचबाट सहकार्य र एकताको प्रक्रिया अगाडि बढ्छ : प्रधानमन्त्री

सोमबार, वैशाख १०, २०८१

ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । ललितपुरको च्यासलमा सोमबार बिहान आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन् । जहिले पनि रहन्छन् । तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ । जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो । उहाँ विचारमा दृढ हुनुहुन्थ्यो । सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’

pra-1-1713777347.jpeg
प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए ।  उनले भने, ‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’
प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए ।  उनले भने,  ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार