कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

शुक्रबार, वैशाख ७, २०८१

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस गरेको संकल्प प्रस्ताव ध्वनि मतले पारित भएको हो । संकल्प प्रस्तावमा 'चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्' भन्ने उल्लेख छ । 'बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्' भन्ने सो प्रस्तावमा उल्लेख छ । संकल्प प्रस्ताव पारित भएपछि नेकपा एमालेका सांसदले संकल्प प्रस्तावको पक्ष विपक्षमा मत बिभाजन गर्न माग गरेपछि सभामुखले मत गणना गर्न निर्देशन दिएका थिए । संकल्प प्रस्तावको पक्षमा ५२ सांसद रहेका थिए । सभामुखले प्रस्तावको पक्ष विपक्षमा रहेका मत गणना गर्ने प्रक्रियामा कांग्रेसका सांसदले भाग लिएका थिएनन् । त्यस्तै मत दिन्न भन्ने पक्षमा भने तीन सांसद रहेका थिए ।  मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन बाध्य पार्न एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव ल्याएका हुन् ।  अर्कोतर्फ मुख्यमन्त्री कार्कीले प्रदेश सभाको बैठकमा संकल्प प्रस्ताव संबिधान विपरित आएको भन्दै आफु संबिधानको धारा भन्दा बाहिर नजाने बताएका थिए । उनले संकल्प प्रस्ताव पारित भए पनि नभए पनि आफुले राजीनामा नलिने र विश्वासको मत पनि नलिने बताउदै आएका छन् । 

संकल्प प्रस्ताव संबिधान विपरित छ, म संबिधानको धारा अनुसार हिड्छु- मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संकल्प प्रस्ताव संबिधान अनुसार नभएको बताएका छन् । प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संकल्प प्रस्ताव संबिधानविपरित भएको भन्दै संबिधानमा नभएको अभ्यास गरेर प्रदेश सभालाई अपवित्र नबनाउन आग्रह गरेका छन् । उनले संबिधानको धारा अनुसार मात्र आफ्नो सरकार चल्ने बताउदै संकल्प प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । उनले प्रदेश सभामा अलमलाउनका लागि संकल्प प्रस्ताव ल्याएको बताउदै फिर्ता लिन अनुरोध गरेका छन् । एमालेसहितका नेताहरुले मार्ग प्रशस्त गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै मुख्यमन्त्री कार्कीले आफु संबिधान अनुसार नै अगाडी बढ्ने बताए । उनले संकल्प प्रस्ताव पारित भएपनि नभए पनि आफु संबिधान अनुसार मात्र चल्ने स्पष्ट गरेका छन् । मुख्यमन्त्री कार्कीले आफ्नो सम्बोधनमा प्रदेशलाई अनिश्चिततामा नलैजान आग्रह गर्दै सर्बदलीय सरकार बनाउन अपिल समेत गरेका छन् । उनले प्रदेशका सबै दललाई सहमतिको सर्बदलीय सरकार बनाउन समेत आग्रह गरेका छन् ।


  
   

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार