भारतमा लोकसभा निर्वाचनका लागि शान्तिपूर्ण रुपमा मतदान हुँदै

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौं । भारतमा आज बिहानदेखि लोकसभा सदस्य पदका लागि मतदान सुरु भएको छ ।  जम्मु र कश्मिर सहित सबै निर्वाचन केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म करिब २५ प्रतिशत मत खसेको विश्वास गरिएको छ । जम्मु र कश्मिर सहित २१ राज्य र केन्द्र शासित प्रदेशमा १०२ पदका लागि मतदान भैरहेको छ । सातौं चरणमा सम्पन्न हुने अपेक्षा गरिएको लोकसभा निर्वाचनको पहिलो चरणको मतदान यतिञ्जेल शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको भारतको निर्वाचन आयोगले जनाएको छ । 
आज बिहान ७ बजे सुरु भएको मतदानमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रीपरिषदका ८ जना र तीन जना पूर्व मुख्यमन्त्री सहित एकजना पूर्व राज्यपाल निर्वाचन प्रतिष्पर्धामा सहभागी छन् ।
पहिलो चरणको मतदानमा अरुणाचल, असाम, बिहार, छत्तीसगढ, मध्यप्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल, अन्डमान निकोबार, जम्मू र कश्मीर, लक्षद्वीप र पोण्डिचेरीमा मतदान भैरहेको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा १६ करोड ६३ लाख मतदाता सहभागी हुनेछन् । जसमा ८ करोड ४ लाख पुरुष र ८ करोड २३ लाख महिला मतदाता छन् । मतदानका लागि १ लाख ८७ हजार मतदान केन्द्र तोकिएको छ । देशभरका मतपत्रहरू एकैपटक सङ्कलन गरेर जुन ४ मा मतगणना गरिने र सामान्यतया त्यहीदिन नतिजा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । ६ हप्ता समय लगाएर सकिने निर्वाचनमा ९७ करोड मतदाता सहभागी हुने विश्वास गरिएको छ । एक करोड ५० लाख कर्मचारीले १० लाख मतदान केन्द्र सञ्चालन गर्नेछन् । यसै निर्वाचनबाट भारतको नयाँ प्रधानमन्त्री पनि चयन हुनेछ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार