दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

बिहीबार, वैशाख ६, २०८१

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमान नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले सोडारीलाई विहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  सोडारीले आजै माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।  सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् । 

पाँच सांसदले प्रदेश प्रमुखलाई बुझाए समर्थन नरहेको पत्र

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेशका पाँच सांसदहरूले दीर्घ सोडारीलाई आफुहरुको समर्थन नरहेको बताएका छन् । प्रदेश प्रमुख नजिर मियाँलाई एक पत्र बुझाउदै नाउपाका पाँच सांसदले आफुहरुको सोडारीलाई समर्थन नरहेको जानकारी गराएका हुन् ।  पत्रमा उनीहरुले सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा नाउपाका कैलाश चौधरी र टिका थापाको हस्ताक्षर प्रयोग गरेको बन्दै यो गैरसंवैधानिक, गैरकानुनी भएको स्पष्ट गरेका छन् ।  पत्रमा सुदूरपश्चिममा नाउपाको संसदीय दलको नेता घनश्याम चौधरी रहेको भन्दै दुई सांसदको हस्ताक्षर मान्य नहुने बताएका छन् । पत्रमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन् ।  उनीहरू पाँचैजना नाउपाका संरक्षक रेशम चौधरी निकट हुन् । नाउपा भित्रको विवादका बीच आजै प्रदेश प्रमुख मियाँले सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार