देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरूको बैठक

बिहीबार, वैशाख ६, २०८१

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी छन् ।  सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिए । कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो । 
बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए । 

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नेकपा एसलाई सघाउन कांग्रेस तयार
कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ ।  बुधबार साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच कांग्रेस नेता डा.नारायण खड्का निवासमा भएको भेटवार्तापछि मुख्यमन्त्रीमा कांग्रेसले एकीकृत समाजवादीलाई सघाउन तयार रहेको कांग्रेस निकट स्रोतले जनाएको छ ।


देउवा र नेपालबीच पौने एक घण्टा प्रदेश सरकार निर्माणका विषयमा छलफल भएको थियो । जसमा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षले पनि साथ दिने बुझिएको छ । 
सुदुरपश्चिमलगायत अन्य प्रदेश सरकारका विषयमा देउवाले बिहीबार बिहान आफ्नो निवास बुढानीलकण्ठमा शीर्ष नेता एवम कानुनविदहरुसँग छलफल गरेका थिए ।
सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रमुख प्रतिपक्षी दलका सभापति देउवा र सत्ता साझेदार दल एकीकृत समाजवादीका अध्यक्ष नेपालबिचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा र नेपालीबिच सुदूरपश्चिम प्रदेश सरकार निर्माण साथै वैकल्पिक गठबन्धन बनाउने विषयमा छलफल भइरहेको हो । 
सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले सरकार गठनका लागि दोस्रोपटक आह्वान गरेको समय आज बिहीबार साँझ ५ बजे सकिँदैछ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार