सुदूरपश्चिम सरकार : माधवको अडानमा दाहाल र ओलीको यु–टर्न

बुधबार, वैशाख ५, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयले सत्ता गठबन्धनमा निम्तिएको संकट तत्कालका लागि टरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई मुख्यमन्त्री नदिए गठबन्धन नै छाड्नेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली यु–टर्न भएका छन् ।  सुदूरपश्चिममा ओली र दाहालले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने बचनबाट पछि हटेका थिए । एकीकृत समाजवादीले नै मुख्यमन्त्री पाउने भएपछि सत्ता गठबन्धनमा देखिएको संकट तत्काललाई टरेको हो । 
गठबन्धनमा पहिले भएको समझदारी विपरीत एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिन दबाब दिएपछि प्रधानमन्त्री दाहालले पनि सहमति दिएका थिए । सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रको समर्थनमा उन्मुक्तिका अध्यक्ष रञ्जिता चौधरी पक्षधर कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । 
तर सहमति अनुसार मुख्यमन्त्री नपाउने भएपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्तिकै संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेर कांग्रेससँग बैकल्पिक गठबन्धन बनाएको थियो । समाजवादी पछि नहटेको अवस्थामा बैकल्पिक गठबन्धनकै सरकार बन्ने सम्भावना समेत थियो ।  सत्ता गठबन्धन केन्द्रको निर्णयबमोजिम नै सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका छन् । पहिले परेका दाबी खारेज गर्दै नयाँ आह्वान भएपछि उनको कदमलाई लिएर कांग्रेसले भने कानूनी प्रश्न उठाएको छ । 
कांग्रेसले नागरिक उन्मुक्ति पार्टीको एउटा पक्ष र एकीकृत समाजवादीलाई साथ लिएर बैकल्पिक गठबन्धनको सरकार बनाउने प्रयास गरेको थियो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बहुमतका आधारमा आफूहरूले समर्थन गरेका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने भएपनि प्रदेश प्रमुखले कानूनविपरीत कदम चालेको आरोप लगाए । 
तर एकीकृत समाजवादीले गठबन्धन छोड्दा त्यसको प्रभाव अन्य प्रदेशहरू र केन्द्र सरकारमा समेत पर्ने भएकाले प्रधानमन्त्री दाहाल र ओली झस्किएका छन् । 
सुदूरपश्चिममा सरकारको नेतृत्व नपाए गठबन्धन छोड्ने चेतावनी दिएपछि मंगलबार विहान प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफलपछि समाधान निकालेका थिए ।  यता सत्ता गठबन्धनकै कारण सुदूरपश्चिमबाट उदय भएको नागरिक उन्मुक्तिमा विवाद चर्किएको छ । उन्मुक्तिकी अध्यक्ष चौधरी वर्तमान गठबन्धनमै सामेल हुन तयार छिन् भने संरक्षक चौधरी तत्काल सत्तामा जान नहुने पक्षमा उभिए । चौधरीद्धयको झगडाले उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको छ । उन्मुक्तिले भने आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसक्दा भागमा परिसकेको मुख्यमन्त्री पनि गुमाएको छ । 
अब सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीको नेतृत्वमा नयाँ सरकार बन्ने लगभग निश्चित भएको छ । प्रदेश प्रमुख मियाँले बुधबार बलेुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने सोडारीको तयारी छ । ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य बहाल छन् । त्यसमध्ये ४ जनामात्रै सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्री पाउन लागेको हो । 
प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । १८ सिट भएको नेपाली कांग्रेस भने प्रतिपक्षमा छ ।  
एकीकृत समाजवादीका सोडारीले माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ समेत गरी बहुमत पु¥याएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् । 
योसँगै सत्ता गठबन्धनले कोशी बाहेकका प्रदेशहरूमा सरकार गठन गर्नेछ । गण्डकी र कर्णालीमा एमाले, बागमती र लुम्बिनीमा माओवादी केन्द्र र मधेशमा जसपाको नेतृत्वमा सरकार बनेका छन् । कोशीमा पनि सत्ता गठबन्धन दलले कांग्रेस नेतृत्वको सरकार ढाल्न सकेका छैनन् । संविधानको धारा १६८ (५) बमोजिम सरकार भएका कारण कोशीमा गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज छैन । मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जाने भन्दै चुनौती दिइरहेका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार