‘ब्रेकथ्रु’ गरिएको सुरुङमार्ग एक बर्षपछि मात्र संचालन हुने

मंगलबार, वैशाख ४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ ।  निर्माण सुरु भएको ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो ।

यो नेपालको पहिलो यातायात सुरुङ मार्ग हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ ।

सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो । ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए । त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिएपनि ५३ महिनापछि मात्र ‘ब्रेकथ्रु’ गरिएको हो ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम बाँकी छ । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २।३०७ किमि दुई लेन सडक कालोपत्र हुनेक्रम जारी छ । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार