लोकतन्त्रमाथि धावाबोल्ने प्रवृति जनताले पराजित गर्छन् : नैनसिंह महर

बिहीबार, चैत २९, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जनताको त्याग, बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रमाथि पछिल्लो समय अराजक तत्त्वहरूले धावा बोल्न खोजिरहेको आरोप लगाएका छन् । काठमाडौंको महाराजगन्जमा जनसम्पर्क समितिहरूसँग आज उपनिर्वाचनको तयारीका बारेमा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै नेता महरले लोकतन्त्रले आफ्नो लय समात्न नसकोस् भन्ने चाहना भएका राजनीतिक दलहरूले लोकतन्त्रका पद्धति र सैद्धान्तिक पक्षमाथि धावा बोल्ने काम गरिरहेको आरोप लगाए । '२००७ सालपछिको ठूलो संघर्षले कांग्रेसले लोकतन्त्र ल्याएर मुलुकलाई अहिलेको स्थानमा पुर्‍याएको हो। आफ्नो लय समात्न नपाउने गरी लोकतन्त्रका पद्धति र सैद्धान्तिक आभारमाथि धावा बोल्ने काम भइरहेको छ। अब लोकतन्त्र प्रेमी जनता र कांग्रेसका लागि यो स्वीकार्य हुँदैन,' उनले भने । जनताले आफैँले स्थापित गरेको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास गर्नका लागि अब जनता स्वयम् लड्ने बेला आएको महरले बताए। त्यसका लागि आसन्न उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराएर लोकतन्त्र विरोधीहरूलाई परास्त गर्नुपर्ने महरको धारणा छ । 'जनताले लोकतन्त्रका बैरीहरूलाई चिनिसक्नु भएको छ। त्यसैले लोकतन्त्रको सुदृद्धिकरणमा चुनौती खडा गर्नेहरू आफैँ परास्त भएर जाने छन्,' उनले भने, 'जनताले आफैँले लडेर स्थापना गरेको लोकतन्त्रलाई बलियो पार्न उपनिर्वाचनमा जनता कांग्रेसको पक्षमा उभिनु पर्ने बेला आइसकेको छ। जनताको साथ लोकतन्त्र र कांग्रेसलाई रहने छ भन्नेमा हामी विश्वस्त छौं। लोकतन्त्रभित्र नै पहिचान ,समावेशिता र समानुपातिक सहभागिता छ। लोकतन्त्र भनेको नै पहिचान हो। संघीय समावेशी लोकतन्त्रिक गणतन्त्र सहितको संबिधान निर्माणको नेतृत्व कर्ता कांग्रेस हो। त्यसैले लोकतन्त्रको जितका लागि कांग्रेसको जित आवश्यक छ ।' उनले नेकपाको सरकार हुँदा भएका अलोकतान्त्रिक कदम स्मरण गर्ने बेला आएको छ। 'उनीहरूका काण्ड र महाकाण्डको स्मरण गरेर उनीहरूले कति लोकतन्त्रलाई कुचल्छन् ? कसरी संविधानको उलंघन गर्छन्? भनेर हिजो देखिसकेका छौं। अब हामीले त्यो गल्ती दोहोर्‍याउनु हुँदैन,' महरले भने । नयाँ आएका राजनीतिक दलको पनि परिस्थिति र चरित्र हेर्दा उनीहरू लोकतन्त्रप्रति प्रतिबद्ध नदेखिएको महरको आरोप छ। कुनै क्लियर उद्देश्य र मार्ग नभएका कारण लोकतान्त्रिक व्यवस्था खत्तम हुँदा उनीहरू त्यसमा रमाउने खालका देखिएको महरले बताए । 'गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति बनाउनु पर्ने सदनमा कांग्रेसको माग छ। मुलुकको ठूलो दल र प्रमुख प्रतिपक्षीदलको आवाजलाई दबाउने काम भइरहेको छ। संसदीय छानबिन समिति बनाएर जाने हाम्रो सामान्य मागलाई सरकारले व्यवस्था गरिरहेको छ। सरकार यसमा संवेदनशील हुनुपर्छ। एमाले र रास्वपाका धेरै मान्छे सहकारी ठगी प्रकरणमा मुछिने डरले सरकारले छानबिन समिति गठन गर्न आनाकानी गर्नु पनि लोकतन्त्रमाथिको धावा नै हो,' महरले भने ।  गृहमन्त्रीमाथि मात्र नभएर २०४६ साल यताका सबै उच्च पदस्थ व्यक्तिहरूमाथि छानबिन हुनुपर्छ भन्ने पक्षमा कांग्रेस रहेको प्रस्ट पार्दै महरले सरकारमै रहेका भ्रष्टहरूले शुशासनको खिल्लि उडाएर ,खुट्टा कमाइरहेको आरोप लगाएका छन्। लोकतान्त्रिक प्रणालीमा कम्युनिस्टहरूको ओठे प्रतिबद्धता भए पनि अन्ततः संसारमा कुनै पनि वामपन्थी लोकतान्त्रिक हुन सकेको महरको दाबी छ।  उग्रवामपन्थी र उग्रदक्षिणपन्थी प्रवृत्तिका कारण समग्र लोकतान्त्रिक पद्धतिमा चुनौती थपिएको उनले बताए ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार