२०४७ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न रास्वपाको माग

मंगलबार, चैत २७, २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर छानबिन गर्न उच्चस्तरीय छानबिन समिति माग गरेको छ । प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बाेल्दै स्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर छानबिन रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए । उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको उनले बताए । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ । अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।

सम्पत्ति छानबिन गर्ने भए ‘संसदीय छानबिन समिति’पनि बनाऔं : विश्वप्रकाश
नेपाली कांग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले उठाइरहेको सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको स्वागत गरेका छन् । 
मंगलबार सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘विगतदेखि हामी सबैले माग गर्दै आएको ०४७ यता सार्वजनिक पद धारण गर्नेको सम्पत्ति उपर उच्चस्तरीय छानबिन समितिको माग रास्वपाले अहिले जो अघि सारेको छ, त्यो उपयुक्त छ । गठन गरौं ।’


त्यस्तै उनले सहकारी ठगीबारे ‘संसदीय छानविन समिति’ गठन गरौं पनि भनेका छन् । रास्वपाको मागप्रति समर्थन गर्दै शर्माले छानविन समितिका लागि दबाब बढाएका हुन् ।
नेपाली कांग्रेसको मंगलबार बसेको संसदीय दलको बैठकले पनि सहकारीको रकम दुरुपयोग, हिनामिना र ठगी गर्ने कार्यमा सरकारमा वहाल रहेका मन्त्री समेत संलग्न रहेकाले संसदीय छानबिन समिति माग गरेको छ ।
     

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार