सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सिंहदरबारमा आइतबार साँझ बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकमा सरकारमा आफ्नो प्रभावकारिता बढाउनेबारे छलफल भएको छ । सिंहदरबारस्थित दलको संसदीय दलको कार्यालयमा बैठक बसेको बैठकमा पार्टी सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारिता बढाउने विषयमा केन्द्रित रहेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले भने, ‘अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा हामी रास्वपा सरकारमा रहेको अवस्थामा खेल्नुपर्ने भूमिका र यसको प्रभावकारितालाई कसरी बढाउन सकिएला भन्ने विषयमा छलफल गरेका छौं । त्यस्तै, अहिले सरकारले विभिन्न विधेयकहरु ल्याएको छ । कामहरु भइरहेका छन् नै । त्यो कामलाई कसरी सम्प्रेषण गर्ने, कसरी एकरुपता ल्याउने भन्ने विषयमा छलफल भएको छ ।’ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले एक महिनाको अवधिमा गरेका काम कारबाहीका बारेमा बैठकमा ब्रिफिङ गरेको परियारले जानकारी दिए । त्यस्तै प्रमुख सचेतक परियारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा गरेको अवरोध खुलाउने विषयमा समेत पहल भइरहेको बताए । उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछानेका विषयमा सहकारीको रकम अपचलन आरोपमा कांग्रेसले छानबिन समिति गठनको काम गरिरहेको छ । उनले भने, ‘संसदको अवरोध खुलाउने विषयमा निरन्तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग म आफैं पनि पहल गरिरहेको छु । सभामुखज्युसँग पनि पहलकदमी गरिरहेका छौं । आज पार्टीका शीर्ष नेताहरू र प्रमुख सचेतकहरू बसेर संसद अवरोध खुलाउने विषयमा छलफल गर्छौं ।’