एमाले ललितपुरको अधिवेशन भोलिदेखि 

अधिवेशन उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने
बिहीबार, चैत २२, २०८०

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशन भोलिदेखि सुरु हुँदैछ । अधिवेशनको तयारी पूरा भइसकेको एमाले ललितपुरले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भोलि शुक्रबार उद्घाटन भइ २५ गते सम्म महालक्ष्मी नगरपालिका वडा नं १ इमाडोलको आँगन पार्टी भेन्युमा अधिवेशन सम्पन्न गर्ने योजना उक्त पार्टीले बनाएको छ। अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । जिल्ला कमिटीको गत फागुन २३ गते बसेको दशौं पूर्ण बैठकले नवौ अधिवेशनसम्बन्धी निर्णय गरेको थियो । एमाले ललितपुर पार्टी प्रचार उपसमिती संयोजक ब्रम्हानन्द श्रेष्ठले अधिवेशनका लागि प्रतिनिधि चयनदेखि लिएर राजनीतिक तथा सांगठानीक प्रतिवेदन तयारी पूरा भएको जानकारी गराए । उनले भने, “प्रतिवेदन तयार भई प्रकाशनका लागि पठाइएको छ ।” निर्वाचनका लागि भोटिङ मेसिनको व्यवस्था भएको र प्रचार उपसमितिले ७१ वटै शाखामा ब्यानरमार्फत प्रचार एवं पार्टीभित्रका साथै पार्टीले दिएका शुभकामनालाई आधिकारिक पेज हुँदै प्रचार पेजमार्फत प्रकाशन र प्रसारण गरिएको उपसमिती संयोजक श्रेष्ठले बताए । अधिवेशनका लागि अध्यक्ष पुरुषोत्तम आचार्यको संयोजकत्वमा ४ सय ७५ सदस्यीय मूल ब्यवस्थापन समिति गठन भएको छ । अधिवेशनका लागि राजनीतिक तथा सांगठनिक प्रतिवेदन समिति संयोजकमा स्वयं आचार्य, ललितपुर समद्धिका आधार निर्माण समितिको संयोजकमा पार्टी केन्द्रिय सदस्य हरिकृष्ण ब्यञ्जनकार, हल तथा मञ्च व्यास्थापन उपसमितिको संयोजकमा जिल्ला सचिव राम राउत रहेका छन् ।
यसैगरी जन परिचालन उप समितिको संयोजकमा जिल्ला उपसचिव श्याम ब्यञ्जनकार, प्रतिनिधि व्यवस्थापन उपसमितिको संयोजकमा जिल्ला संगठन विभाग प्रमुख अष्टवीर ब्यञ्जनकार रहेका छन् ।
त्यसैगरी खाद्य व्यवस्थापन उपसमितिको संयोजकमा पवन के।सी।, साँस्कृतिक उपसमितिको संयोजकमा आशा राई तथा आर्थिक उपसमितिमा गम्भीर राना र निर्वाचन समितीमा पुरुषोत्तम ढुङ्गाना संयोजक रहेका छन् ।
लेखा समितिमा रघुनाथ घिमिरे, प्रचार उपसमितिमा ब्रम्हानन्द श्रेष्ठ, अतिथि सत्कार उपसमितिमा अन्नपूर्ण बस्नेत, स्वास्थ्य उपसमितिमा कमला थापा र स्वयंसेवक व्यवस्थापन उपसमितिमा साजन दर्लामी (राजकुमार) संयोजक रहेका विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज शेर बहादुर तामाङ्ले २०८४ सालको निर्वाचनमा एमाले एक्लैलाई बहुमत सहित विजय गराउन ललितपुरसहित देशै भरका जनताको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने, “यस अधिवेशनले ललितपुरमा सक्षम र सफल नेतृत्व चयन गर्न सराहनिय भूमिका निर्वाह गर्नेछ । एमालेका कारण हालको सरकारलाई असहयोग नहोस भनी हामी मिलेर अघि बढिनै रहेका छौँ ।”

 Uml-la-1712184347.webp
जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले अधिवेशनले नयाँ नेतृत्वका लागि मनोनयन लगायतका निर्वाचन प्रकृयाका निम्ति चैत्र २४ गते साँझ ५ बजेपछिको समय तोकेको तथा सकेसम्म सहमतीमै र नभए मात्र लोकतान्त्रिक पद्धतीबाट नेतृत्व छानिने भनाइ राखे । “सहमती नभएको खण्डमा चैत्र २५ गते विहान ८ बजेबाट भोटिङ मेसिनमार्फत मतदान गर्ने सम्मको विकल्प तयार पारिएको छ । अधिवेशनका लागि गठित निर्वाचन समितिको निर्णायानुसार निर्वाचन कार्यक्रम तय हुने भएको छ”, उनले थपे ।
प्रचार उपसमिति सहसंयोजक श्याम शर्मा बजगाइँले उक्त अधिवेशनका लागि ७१ वटै वडा, २३ वटा जनसंगठन, पालिकास्तरीय दलित प्रतिनिधी, लेखा समिति, सल्लाहकार समिति, मनोनित गरी करिब ५ सय जना प्रतिनिधी चयन गरिएको जानकारी गराए ।
‘नेपाली कम्युनिष्ट आन्दोलनको आधार भूमिको रुपमा परिचित ललितपुर जिल्ला कम्युनिष्ट आन्दोलनको उर्भर भूमिको रुपमा लिइन्छ । ललितपुर जिल्ला नेपालको कम्युनिष्ट आन्दोलनको लागि प्रेरणदायी भूमिको रुपमा चिनिँदै आएको भन्दै ललितपुरका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरुको लागि यो गौरवको विषय हो’ अध्यक्ष एमाले ललितपुरका अध्यक्ष आचार्यले भने । 
“ललितपुर जिल्लाका ३ जना राजनीतिक व्यक्तित्वहरु नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठ कम्युनिष्ट पार्टीको संस्थापक हुनुहुन्थ्यो । त्यसैगरी संस्थापक सरह भूमिका निर्वाह गर्ने देवेन्द्रलाल श्रेष्ठ (काईंला बा) र तेस्रो महाधिवेशनका महासचिव तुल्सीलाल आमात्य यही जिल्लाका हुनुहुन्थ्यो । ललितपुरको अगुवा कम्युनिष्ट नेताको रुपमा सिद्धिलाल सिंहलाई सम्झनुपर्ने हुन्छ ।’’ अध्यक्ष आचार्यले भने ।
स्थानीयस्तरबाट १५ जना संगठित सदस्य बराबर एक जना प्रतिनिधि चयन भएर आउने व्यवस्था रहेको बताउँदै उनले सोही अनुसार महिलाहरुको आरक्षण सुनिश्चित गरिएको जानकारी गराए ।
एमाले ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङले अधिवेशन भव्य ढङ्गले सम्पन्न हुने बताउँँदै २०८४ मा पार्टीलाई बहुमत दिलाउन सफल हुने दावी गरे । उनले वर्तमान सरकारलाई गरेको समर्थन विश्वासको आधारमा दिइएको खाली चेक भएको बताउँदै सरकारको कामकारबाहीबाट आगामी दिनमा निर्णय लिने बताए ।
“अधिवेशनमा सहभागी हुने करिब पाँच सय जना प्रतिनिधिहरु चयन भइसकेको छ । राजनीतिक तथा सांगठनिक प्रतिवेदन तयार भई प्रकाशनका लागि प्रेसमा पठाइएको छ । लेखा समितिले लेखासम्बन्धी प्रतिवेदन पेश गरिसकेको छ।” श्रेष्ठले भने ।
एमालेले जिल्ला अधिवेशनको खर्च जुटाउन पार्टी प्रतिनिधिसँग शुल्क उठाउने भएको छ । जिल्ला अध्यक्ष आचार्यका अनुसार विभिन्न जनसंगठन र कमिटीहरूबाट छनोट भएर आउने प्रतिनिधिसँग एक हजार लिइनेछ । जिल्लाको कमिटीहरूका सदस्यहरुबाट १ हजार ५०० रुपैया, महानगरपालिका कमिटि शाखासँग प्रति शाखा दस हजार, नगरपालिका कमिटि शाखासँग सात हजार ५०० रुपैया र गाउँपालिका शाखाहरुबाट प्रति शाखा ५ हजार शुल्क दिने सो अवसरमा जानकारी गराएको छ । त्यस्तै पार्टीका शुभचिन्तक, सहयोगदाताबाट पनि चन्दा लिइने बताइएको छ ।एमाले ललितपुरको जिल्ला अधिवेशन आँगन पार्टी भेन्यू, महालक्ष्मी नगरपालिका वडा नं. १, इमाडोलमा हुनेछ । अधिवेशन चैत्र २३ गते विहान ११ः०० बजे नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने जनाइएको छ । त्यस्तै बन्द सत्रको कार्यक्रम चैत्र २३ गते साँझ ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म र चैत्र २४ विहान ८ः०० बजेदेखी दिउँसो ३ः०० बजेसम्म हुनेछ । नयाँ नेतृत्वका लागि मनोनयन लगायतका निर्वाचन प्रकृया चैत्र २४ साँझ ५ः०० बजेबाट हुनेछ । निर्वाचन चैत्र २५ गते विहान ८ः०० बजेबाट भोटिङ मेसिनमार्फत हुनेछ ।
एमाले ललितपुरको अध्यक्ष बन्न तीनजनाले आकाक्षा व्यक्त गरेका छन् । अध्यक्षको आकाक्षा व्यक्त गर्नेमा वर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, चेतनाथ सञ्जेल र दिनेश कार्की रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार