सुन तस्करी प्रकरणमा महरा पक्राउ

यी हुन् महरालाई हाजिर जमानीमा छाड्दा सरकारी पक्षले देखाएका तीन आधार

शनिबार, चैत १०, २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् ।  काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएलगत्तै महरालाई हिरासत मुक्त गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
‘कृष्णबहादुर महराजीलाई उहाँका छोरा निर्मल महरो को जिम्मा लगाएर हाजिर जमानीमा छोडिएको छ’ बोगटीले भने । प्रहरीले सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि महरालाई सोमवार पक्राउ गरेको थियो । तर स्वास्थ्यका कारण देखाउँदै उनी सोही दिनदेखि अस्पताल भर्ना भएका थिए । उनलाई जमानीमा छोड्ने अनुमति दिइनुअघि प्रहरी र सरकारी वकिलको कार्यालयले महराँग सुन तस्करीको अभियोगबारे बयान लिएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई चार दिन अस्पतालमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

हाजिर जमानी के हो
मुलुकी फौजदारी कार्यविधि संहिताले निश्चित अवस्थामा फौजदारी अभियोग लागेका व्यक्तिहरूलाई हाजिरी जमानीमा हिरासतमुक्त गर्न सक्ने अधिकार सरकारी वकिलको कार्यालयलाई दिएको छ ।
कुनै व्यक्तिलाई अनुसन्धानका लागि हिरासतमा राखिरहन आवश्यक नदेखिएको कतिपय अवस्थामा सरकारी वकिलको अनुमति नलिई पनि प्रहरीले जमानीमा छाड्न सक्छ । यसरी छोडिएको व्यक्तिलाई मुद्दा चलाउनुपर्ने अवस्थामा उपस्थित हुने कागज गराइएको हुन्छ ।

महरा किन हाजिर जमानीमा छुटे
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सन्देश श्रेष्ठले महरालाई तीनवटा कारण देखाउँदै हाजिर जमानीमा छाड्न अनुमति दिइएको जानकारी दिएका छन् ।
‘यसअघि अदालतले नै उहाँको स्वास्थ्यस्थितिका कारण अस्पतालमा राख्न भनेको थियो। त्यसैले स्वास्थ्यका कारण, बयान लिइसकिएको अवस्था र उहाँको उमेरलाई समेत ध्यानमा राखेर सीआईबीको मागबमोजिम हामीले हाजिर जमानीमा छोड्न अनुमति दिएका छौँ’ श्रेष्ठले भने ।
महरा अहिले ६५ वर्षका भए । उनी क्षयरोग, युरिक एसिड र प्रोस्ट्रेट ग्रन्थीको समस्याबाट पीडित भएको दाबी गरिएको थियो ।

महरामाथि कस्तो आरोप
सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले विभिन्न व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसमा महराको पनि नाम भएको भन्दै गृहमन्त्री रवि लामिछानेले उनीमाथि पनि अनुसन्धान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
धूमपान गर्ने विद्युतीय उपकरण भेपमा लुकाएर नेपाल भित्र्याइएको सुन तस्करीको अनुसन्धानका क्रममा तस्करीमा प्रत्यक्ष संलग्न देखिएका व्यक्तिसँग महराको पटकपटक टेलिफोनमा सम्पर्क देखिएको लगायतका विवरण विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका थिए ।
छानबिन आयोगको प्रतिवेदन प्रहरीले बुझेपछि काठमाडौं छाडेका महरालाई कपिलवस्तुको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले बताएको थियो ।

कस्तो छ महराको राजनीतिक यात्रा
विसं २०७४ सालमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको बहुमत सरकार हुँदा महरा सभामुख बनेका थिए । तर संसद् सचिवालयमै कार्यरत एक कर्मचारीमाथि यौन दुराचारको आरोप लागेपछि उनले प्रतिनिधिसभाको सभामुख पदबाट राजीनामा दिएका थिए ।
पटकपटक मन्त्री बनिसकेका महरा नेकपा माओवादीको उपाध्यक्ष छन् । पार्टीमा निकै प्रभावशाली मानिने महरा लामो समय माओवादीको महासचिव थिए । उनलाई तात्कालिक माओवादीले सरकारसँग शान्ति वार्तामा समेत वार्ता टोली प्रमुख बनाएको थियो । शिक्षण पेसा छोडेर राजनीतिमा लागेका महरा २०४८ सालमा ३२ वर्षकै उमेरमा सांसद बनेका थिए । महराका छोरा राहुल महरा पनि गत भदौ महिनामा सुन तस्करीको एउटा मुद्दामा पक्राउ परेका थिए । 

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार